इन्धन ट्यांकरमा भन्सार छलेर नेपाल ल्याइँदै गरेको सामान नियन्त्रणमा

news

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २३ । कैलालीको त्रिनगर भन्सार भएर भन्सार छली गरी नेपाल ल्याइँदै गरेको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको बन्थरा डिपोबाट तेल लिएर धनगढी डिपोमा आउँदै गरेका ना७ख २८०२ र ना४ख ९९१३ नम्बरका ट्यांकरबाट प्रहरीले समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ‘आउट फोर्स’ कैलालीको टोलीले भन्सार छलेर ल्याइँदै गरेको सामान मंगलबार नियन्त्रणमा लिएको थियो ।

करिब एक लाख रुपैयाँ मूल्य बराबरका हार्डवेयरका समानहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हर्क साउदले जानकारी दिए ।

उनले भन्सारबाट प्रज्ञापनपत्र लिएर धनगढी डिपोतर्फ जाँदै गरेको उक्त ट्यांकरलाई शंका लागेर चेकजाँच गर्दा बेरिङ, रड, मोटरसाइकलका ट्युबहरु, एंगल, रेन्च र बोल्टलगायतका समानहरु फेलापरेको बताए ।

ती सामान तथा ट्यांकरचालक झकुले बम र शंकर चन्दलाई भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

यस्तै, करिब एक हप्ताअघि पनि भन्सार छली एक लाख बढीको सामान ल्याउँदै गरेका दुईओटा ट्यांकरलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको टोलीले भन्सार कार्यालयमा बुझाएको थियो ।

यसैगरी, विभिन्न स्थानबाट भन्सार छली गरेर लैजाँदै गरेका करिब एक लाख मूल्य बराबरकै लत्ताकपडाहरु नियन्त्रणमा लिएर बुधबारै भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया