चार वर्षमा प्रहरी ‘इन्काउन्टर’मा सातजना मारिए (भिडियो)

news

दीपक श्रेष्ठ/भरत केसी (इमेज)

काठमाडौं, साउन २४ । केही वर्षयता प्रहरीले ‘इन्काउन्टर’ गर्नेक्रम बढेको छ ।

राजनीतिक वा शक्तिको पहुँचको आवरणमा समाजमा आतंक मच्चाउने तत्वहरुविरुद्ध प्रयोग भइरहेको इन्काउन्टरलाई प्रहरीले सजिलो उपायकारुपमा प्रयोग गर्न थालेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ ।

विगत चार वर्षमा प्रहरी इन्काउन्टरका नाममा सातजना मारिएका छन् ।

वि.सं. २०७१ साल भदौ २३ गते गुन्डानाइके ‘चरी’ भनिने दिनेश अधिकारी मारिएका थिए ।

त्यसको दुई वर्षपछि २०७२ भदौ ३ गते सामाखुसीमा प्रहरीको गोलीबाटै ‘घैंटे’ भनिने कुमार श्रेष्ठ मारिए ।

यस्तै, २०७४ साउन २३ गते ललितपुर, कुसुन्तीका प्रवीण खत्री पनि प्रहरीले चलाएको गोलीबाटै मारिए ।

२०७४ फागुन ९ गते रुपन्देहीमा सीआइबीको टोलीले ‘गुन्डानाइके’ मनोज पुन र उनका सहयोगीमाथि गोली चलायो र दुवै मारिए ।

गत सोमबार काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने गोपाल तामाङ र अजय तामङ पनि भक्तपुर, सूर्यविनायकको जंगलमा प्रहरीको गोलीबाटै मारिए । यी सबै घटनालाई प्रहरीले इन्काउन्टर भन्ने गरेको छ ।

गोपाल र अजय तामाङ मारिएपछि प्रहरी कारबाहीका यस्ता शृंखलाहरुमाथि मानवअधिकारकर्मीहरुले प्रश्न उठाउन थालेका छन् ।

तर, पूर्वडीआइजी नवराज ढकाल आफूमाथि जाइलाग्नेहरुमाथि प्रहरीले जवाफी कारबाही गर्नसक्ने भन्दै ‘फेक इन्काउन्टर’ भने गर्न नहुने बताउँछन् ।

निशान खड्काको अपहरण गरी हत्या गर्ने व्यक्तिहरुलाई घरबाटै पक्राउ गरी मारिएको भन्ने आशंका बढ्दै जाँदा मानिसहरु उक्त घटनाको पक्ष र विपक्षमा उभिएका छन् ।

अधिकांश मानिसहरु बालक अपहरण गरी हत्या गर्ने जघन्य अपराधीहरुलाई मारेर प्रहरीले ठीक गरेको धारणा राख्छन् भने केही व्यक्तिहरु भने पक्राउ गर्नसक्ने अवस्था अथवा पक्राउ गरेर व्यक्ति हत्या गर्नु अर्को अपराध हो भन्ने ठान्दछन् ।

राजनीतिक शक्ति, पैसा र पहुँचको आधारमा अपराधीहरु तह लगाउन हम्मेहम्मे भइरहेको अवस्थामा प्रहरीले गर्ने इन्काउन्टरलाई सर्वसाधारणले ठीकै ठान्नु पनि गलत नहुन सक्छ ।

तर, यस्तोक्रम बढ्दै जाने हो भने आफ्नो अधिकारको दुरुपयोग गरेर निर्दोष अथवा व्यक्तिगत रिसइबी साँध्नसमेत प्रहरी पछि नपर्ला भन्न पनि सकिँदैन ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया