बलाधिकृत रथी थापालाई कामु प्रधानसेनापतिको कार्यभार

news

काठमाडौं, साउन २४ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगीअड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई बिहीबार हस्तान्तरण गरेका छन् ।

प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्नेछन् ।

नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाका लागि समर्पित भइ करिब ४० वर्षसम्म अनवरतरुपमा सेवागरी प्रधानसेनापतिको उच्च ओहदामा रहेका प्रधानसेनापति क्षत्रीले आगामी भदौ २४ गतेदेखि पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्ने नेपाली सेनाले जनाएको छ ।

सैनिक परम्परानुसार प्रधानसेनापति क्षत्रीले बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझ–बुझारथ गरेका छन् ।

बलाधिकृत रथी थापालाई यही साउन १० गतेको मन्त्रिपरिषदको निर्णयबमोजिम शुक्रबारदेखि लागू हुनेगरी प्रधानसेनापतिमा कामु मुकर्रर गरिएको थियो ।

बुझ–बुझारथपछि कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्ने प्रयासस्वरुप कागजको कम प्रयोग गर्ने वातावरणका लागि ‘डिजिटलाइजेसन’मार्फत् कार्यालयमा कामको सुरुआत गरेका छन् ।

उनले काठमाडौं—तराई–मधेस द्रुतमार्ग आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार पनि बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई बिहीबारकै मितिदेखि हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया