सीपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

news

काठमाडौं, साउन २५ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेले आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

आज बिहान सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेल्दै उनले गुयना एमेजोन वारियर्सविरुद्ध उत्कृष्ट बलिङ गरेका हुन् । उनले चार ओभर बलिङ गर्दै १२ रनमात्र खर्चिएर दुई विकेट लिए । आफ्नो टिमका लागि सबैभन्दा किफायती र सफल बलरका रुपमा नाम लेखाउन उनी सफल भए पनि अन्य बलरको फिक्का प्रदर्शनका कारण उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स भने पराजित भएको छ ।

गुयनाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । उसका लागि विस्फोटक ब्याट्सम्यान तथा कप्तानसमेत रहेका क्रिस गेलले ८६ रन बनाएका थिए । गेलले ६५ बलको सामना गर्दै उक्त रन बनाएका हुन् ।

१४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गुयनाले १६ ओभर तीन बलमै चार विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । दुई विकेट सन्दीपले लिँदा अन्य दुई विकेट शेल्डन कोट्टेरेलले लिएका थिए । उनले दुई ओभर बलिङ गर्दै २१ रन खर्चिएका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया