आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा

news

चितवन, साउन २५ । गृहमन्त्री रामबहादुर थापाले पक्राउ परेका विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा शुक्रबार प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रकाण्ड अपराधी भएकै कारण पक्राउ गरिएको स्पष्ट पारे । उनले भने, ‘प्रकाण्ड वारेन्ट जारी गरिएका व्यक्ति हुन्, गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए, चन्दा आतंक मच्चाएकोले पक्राउ गरिएको हो ।’

‘सँगै जनयुद्ध लडेको तपाई गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो नि’ भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री थापाले भने, ‘म गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो, अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन् ।’

उनले विप्लव नेतृत्वको नेकपासँगका मुद्दा राजनीतिक र प्रशासनिक रुपमा हल गरिने बताए । विप्लव नेतृत्वको नेकपासँग अनौपचारिक सम्वाद भइरहेको उनले जानकारी दिए । 

भक्तपुरमा अपहरणकारीलाई गरिएको इन्काउन्टर सहि भएको ठहर सरकारले गरेको गृहमन्त्री थापाले प्रस्ट पारे । ‘सरकारले यो बारेमा आफ्नो धारणा प्रस्ट पारेको छ । २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ,’ उनले भने, ‘प्राप्त रिपोर्ट अनुसार उनीहरु मुठभेडमा नै मारिएका हुन् । फेक इन्काउन्टर हल्ला मात्रैं हो, यसलाई सरकारले हल्लाकै रुपमा बुझेको छ ।’ 

अर्को एक प्रसंगमा गृहमन्त्री थापाले समयमा नै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको बताए । उनले सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको बताए ।

सुनकाण्डको छानविनका सम्वन्धमा गृहमन्त्री थापाले छानविनको एक चरण सकिए पनि अर्को चरण सुरु गरिएको दावी गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया