अमेरिकी उपराष्ट्रपतिले ‘नयाँ युद्धभूमिको तयारी’ भन्दै सार्वजनिक गरे अन्तरिक्ष फौजबारे विवरण

news

वासिंटन, साउन २५ । अमेरिकाले नयाँ युद्धभूमिको तयारीमा जुट्ने बेला आएको जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नयाँ स्पेस फोर्स अर्थात अन्तरिक्ष फौजबारे विवरण सार्वजनिक गर्दै नयाँ युद्धभूमिको तयारीमा जुट्ने बेला आएको बताएका हुन् ।

सन् २०२० सम्ममा सेनाको छैठौँ शाखा निर्माण गर्न र पाँच वर्षका लागि आठ अर्ब डलर लगानीको प्रस्ताव पारित गर्न पनि पेन्सले अमेरिकी कंग्रेसलाई आग्रह गरेका छन् ।

अन्तरिक्षमा उत्पन्न हुन थालेका खतराबारे उल्लेख गर्दै उनले चीन र रुसले अन्तरिक्षको कक्षनजिकै आफ्ना भूउपग्रह ल्याउन थालेको बताए ।

उत्तर कोरिया र इरानबाट समेत खतरा उत्पन्न हुनसक्ने पेन्सको भनाइ छ । यी देशका कारण अमेरिकी अन्तरिक्ष प्रणालीमाथि ठूलो खतरा सिर्जना भइरहेको दलील पनि उनको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्ष फौज गठन गर्ने बताउँदै आइरहेका बेला उपराष्ट्रपति पेन्सले पेन्टागनमै गएर त्यसबारे प्रशासनको दृष्टिकोणबारे धारणा राखेका हुन् ।

पेन्सले अमेरिकाका प्रतिद्वन्द्वीहरुले पहिला नै अन्तरिक्षलाई लडाई गर्ने युद्ध क्षेत्रमा परिणत गरिसकेको भन्दै अमेरिका यो चुनौतीबाट पछि नहट्ने पनि उल्लेख गरे । यद्यपि यसबारेमा कांग्रेसमा बहस हुन बाँकी छ ।

अहिलेको योजना अनुसार नै भए सेना, नौसेना, हवाइफौज, विशेष फौज, तटरक्षकसहित अन्तरिक्ष फौज छैठौं सैन्य सेवामा परिणत हुनेछन् । आलोचकहरु भने अहिले नै अमेरिकी एअर फोर्सले कुशलतापूर्वक गरिरहेको काममा अनावश्यक खर्च गर्नुको कुनै तूक नरहेको उल्लेख गरेका छन् । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया