गृहमन्त्रीको निर्देशन–‘अमानवीय क्रियाकलापमा संलग्न हुनेलाई उन्मुक्ति नदिनोस्’

news

चितवन, साउन २५ । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिएका छन् ।

कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले समाजमा महिला, दलित, सीमान्तकृत वर्गलगायत समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दन्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए ।

‘राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखन्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्नेछन्’ भन्दै गृहमन्त्रीले प्रहरीले सूक्ष्म विश्लेषण गरी योजनाबद्धरुपमा त्यस्तालाई कारबाही गर्न कुनै कसर बाँकी राख्न नहुने बताए ।

आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानुनी व्यवस्थालाई ध्यानमा राखी कानुनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी लाग्नुपर्ने उनले बताए ।

सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार पार्न प्रहरी कर्मचारी सामूहिक र समर्पितरुपमा कानुनसम्मत तरिकाले लाग्नुपर्ने उनले बताए ।

‘तालिममा पसिना बगाउनेहरुले कार्यक्षेत्रमा रगत बनाउँछ’ भन्ने नेपाल प्रहरीको आदर्शलाई सिद्ध गर्दै तालिममा प्राप्त गरेका ज्ञान र दक्षताबाट नागरिकको सेवामा लाग्न उनले दीक्षित प्रहरीलाई निर्देशन दिए ।

‘प्रहरी सधैं नागरिकमैत्री हुनुपर्छ । ऊ प्रत्येक नागरिकको सहज पहुँचमा हुनुपर्छ’–उनले भने ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताको सुरक्षामा प्रतिबद्ध भएर लाग्न निर्देशन दिँदै भने–‘आफ्नो व्यावसायिक भविष्य संगठनभित्रै खोज्नोस्, बाहिर नखोज्नोस् ।’

तालिममा सहभागी ४४१ मध्ये ४३२ जना शुक्रबार दीक्षित भएका छन् । अरु ९ मध्ये चार कारबाहीमा परेको, एकको मृत्यु भएको र चार स्वास्थ्यका कारण दीक्षान्त समारोहमा सहभागी हुन नसकेको बताइएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया