ट्रम्पका स्लोभेनियाली सासू–ससुराले अमेरिकी नागरिकता पाए

news

न्यूयोर्क, साउन २५ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिकरुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासू अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिएको आप्रवासनसम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताए ।

नागरिकता प्राप्त गर्न कति समय लाग्यो वा स्थायी अनुमतिका लागि प्रथम महिला मेलानियाले सिफारिस गरेको हो/होइन ? भन्ने उनले जानकारी दिएनन् ।

ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन् ।

अमेरिकी नागरिकता लिएका कतिपय मुलुकका नागरिकले आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गर्दै स्थायी आवासीय अनुमति दिलाउने र पछि नागरिकता लिने गर्दा अमेरिकामा विदेशीको संख्या बढेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले विदेशीका कारण रोजगारी गुमेको र राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना भइरहेको बताएका छन् ।

योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाईमात्र अमेरिकामा प्रवेश दिनुपर्ने उनको जोड छ ।

स्लोभेनियामा कार बिक्रेता भिक्टर नाभ्स र कपडा कारखानामा काम गर्ने अमालिजा दुवैको उमेर ७० वर्षभन्दा बढी छ ।

अवकाश जीवन बिताइरहेका उनीहरु दुवै ज्यादाजसो अमेरिकामै बस्दै आएका छन् । उनीहरु छोरी मेलानिया र नाति ब्यारोनसँग रमाइरहेका छन् । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया