रेलिगेसनबिनाकै लिग : एन्फा

news

काठमाडौं, साउन २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष रेलिगेसनबिनाको लिग गर्ने निर्णयमा पुनःविचार गर्न नसकिने प्रस्ट पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता किरण राईले फुटबलको सर्वोच्च निकाय (फिफा) र एएफसीसँग अनुमति लिइसकेको, लिग खेल्न क्लबसँग सहमति भइसकेको तथा लिग कमिटीले पनि धेरै काम अघि बढाइसकेकाले एक सिजनका लागि रेलिगेनबिनाको लिग गर्ने प्रस्ट पारे ।

पाँच वर्षपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी असोज १४ गतेदेखि सुरु हुँदैछ । लिग माघसम्म सन्चालन हुनेछ ।

त्यसका लागि एन्फाले लिग संयोजककारुपमा पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्मा र निर्देशकको जिम्मेवारी खेल विश्लेषक सन्जीव मिश्रलाई दिइसकेको छ ।

एन्फाले विदेश विभाग प्रमुखमा नियुक्ति भइ फिफा कंग्रेसमा सहभागिता जनाएका नवीन पाण्डे विदेशी नागरिक नभएको बरु गैरआवासीय नेपाली भएको भन्दै आफ्नो बचाउसमेत गरेको छ ।

केही दिनपहिले पाण्डे नेपालको नेतृत्व गर्दै फिफा कंग्रेसमा सहभागी भएपछि त्यसको विरोध भएको थियो ।

गैरआवासीय नेपालीसँग सहकार्य गर्ने सरकारी नीति नै भएकाले उनलाई विदेश विभाग प्रमुख बनाइएको प्रवक्ता राईको भनाइ थियो ।

सो अवसरमा एन्फाको विशेष साधारणसभा आगामी साउन ३० गते चितवनमा गर्ने जानकारी दिइयो । साधारणसभाले संघीयताअनूकूल विधान बनाउने बताइएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया