संघीयताको विरोध गर्दै हिँड्ने अधिकार प्रधानमन्त्रीलाई छैन : गगन थापा

news

काठमाडौं, भदौ ५ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य र विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयताविरोधी बन्न थालेको आरोप लगाए ।

संघीयताको विरोध गर्दै हिँड्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै थापाले ‘प्रधानमन्त्रीको काम प्रदेशसभाको बैठकमा गएर भाषण दिने र मिडियामा अन्तर्वार्ता दिएर रोइलो गर्ने होइन’–भने ।

प्रतिवाद

सांसद थापाको भनाइको प्रतिवाद गर्दै सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीलाई संघीयताविरोधी देखाउन खोजेर प्रतिपक्षीले अराजकता निम्त्याउन खोजेको आरोप लगाए ।

अर्को प्रसंगमा सांसद अधिकारीले अराजकताको पनि सीमा हुने भन्दै माइतीघरमन्डला क्षेत्र कसैले नांगै आएर उभिने ठाउँ नभएको टिप्पणी गरे ।

बैठकमा कांग्रेस सांसद विनोद चौधरीले सरकारले जनताबाट उठाएको करको सदुपयोग गर्न नसकेको टिप्पणी गरे ।

यस्तै, कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले स्थानीय र प्रान्तीय तहमा कर्मचारी खटाउन सरकार पूर्णतः असफल भएको भन्दै खटाइएका कर्मचारीलाई पनि तीन÷तीन महिनामा सरुवा गरेर सरकारले अराजकता निम्त्याउन खोजेको आरोप लगाए ।

सांसदहरु तेजुलाल चौधरी, देव गुरुङ, देवेन्द्र पौडेल, अग्नि सापकोटा, लक्षमणलाल कर्णलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया