स्मार्ट लाइसेन्सको सास्ती (भिडियो रिपोर्ट)

news

मीरा बस्नेत/भरत केसी/देवेन्द्र महर्जन (इमेज)

काठमाडौं, भदौ ५ । सवारीचालक अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका अझै १० लाख व्यक्तिहरु चिटकै भरमा सवारी–साधन चलाउन बाध्य छन् ।

लाइसेन्स वितरण प्रणाली चुस्त बनाउन सरकारले ‘स्मार्ट लाइसेन्स’को योजना लागू गरेपनि अधिकांशले परीक्षा उत्तीर्ण गरेको वर्ष दिन बित्दा पनि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् ।

समय र प्रविधिको विकाससँगै डिजिटल प्रणालीअन्तर्गत् लाइसेन्स वितरण गर्ने सरकारको निर्णयअनुसार वर्षौंपहिले सुरु गरेको यो प्रणालीले धेरैलाई सजिलो त भएको छ तर समस्या भने ज्यूँका त्यूँ नै छ ।

लाइसेन्स पाउनका लागि पुर्‍याउनुपर्ने प्रक्रिया पूरा गर्दा पनि लाइसेन्स लिन वर्ष दिनभन्दा बढी कुर्नुपरेको र सम्बन्धित निकायबाट ठोस जवाफ नआउँदा सेवाग्राहीहरु दिक्क हुने गरेका छन् ।

यातायात कार्यालयले नयाँ र नवीकरणको प्रक्रियामा रहेका सेवाग्राहीलाई वैकल्पिकरुपमा दिने गरेको प्रतिलिपि पनि महिनौंसम्म पकेटमा रहने गर्दा त्यसको अक्षरसमेत मेटिने गरेकाले थप समस्या पर्ने गरेको भुक्तभोगीहरुको गुनासो छ ।

यातायात व्यवस्था विभाग मीनभवनमा छापिने गरेको स्मार्ट लाइसेन्सका लागि राखिएका चारओटा प्रिन्टरमध्ये दुईओटालेमात्रै काम गर्दा प्रक्रिया ढिला हुन गएको हो ।

दिनमा चार हजार माग धान्नका लागि प्रयोगमा रहेका प्रिन्टर पनि कतिबेला बिग्रने हो ? थाहा छैन ।

यातायात व्यवस्था विभागमा छापिने लाइसेन्स प्रमाणित गर्ने काम पनि सुस्तगतिमा हुने गरेको पाइएको छ ।

प्रमाणित गरेपछि विभागमा पठाउने गरेको स्मार्ट लाइसेन्स वितरणमा पनि उस्तै ढिलाइ भइरहेको सेवाग्राहीको भनाइ छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया