नयाँ–नयाँ ट्राफिक नियम, कार्यान्वयन पक्ष फितलो (भिडियो)

news

दीपक श्रेष्ठ/रक्षा बज्राचार्य/कुमार थापा (इमेज)

काठमाडौं, भदौ ८ । नेपालको ट्राफिक प्रहरीले नयाँ–नयाँ नियम लागू गरिरहन्छ । तर, ती नियम कतिको टिकाउ भए भन्ने प्रश्न भने उब्जिरहन्छ ।

अहिले फेरि ट्याक्सी चालकलाई ट्याक्सी चलाउँदा अनिवार्यरुपमा ज्याकेट लगाउनुपर्ने नियम लागू गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले भदौ ६ गतेदेखि ज्याकेट नै वितरण गरेको छ । तर, यो नियम लगातार कार्यान्वयनमा आउला वा कतिपय अरु नियमझैं समयक्रममा त्यत्तिकै हराएर जाला भन्ने खुल्दुली भने आममानिसमा छ ।

ट्राफिक प्रहरीले नेपालमा बढ्दो ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै बेलाबेलामा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

केही समयपहिले सार्वजनिक सवारी–साधन विशेषगरी माइक्रो समा क्षमताभन्दा बढी यात्री कोच्नेलाई कारबाही गर्ने अभियान चलाइयो ।

माइक्रोबसमा उल्टोबाट राखिएको सिट अनिवार्य रुपमा हटाउनुपर्ने नियम लागू गरियो ।

अधिकांश माइक्रोबसमा उल्टोबाट हालिएको सिट पनि निकालियो । सिट ननिकाल्ने केही कारबाहीमा पनि परे । तर, अहिले यी सबै विषय देखे नदेखैझैं भएको छ । न त यात्रीमाथिको दुर्व्यवहार नै कम भएको छ ।

यस्ता सार्वजनिक सवारी–साधनलाई नियन्त्रणमा लिने प्रक्रिया केही समय लागू गरिएपनि फेरि पुरानै अवस्थामा फर्कंदा यात्री मारमा परेका छन् । अधिकांश माइक्रोबसले फेरि उल्टो सिट हालेका छन् ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रीले चालक र सहचालकबाट दुर्व्यवहार र खप्की खानु सामान्यझैं छ । यस्ता सवारी–साधनमा यात्रा गर्दा ग्लानी महसुस गर्नु नियति नै बनेको छ ।

तर, ट्राफिक प्रहरी भने आफैंले लागू गरेको एउटा नियम राम्रोसँग लागू नहुँदै नयाँ–नयाँ नियम लगाउन खोज्छ ।

माइक्रोबस चालक र सहचालकलाई अनिवार्यरुपमा ‘युनिफर्म’स्वरुप ज्याकेट लगाउने नियम लगाइयो । तर, अहिले त्यो अर्थहीन बनाइएको छ ।

यता, ट्याक्सी चालकलाई ल्याइएको ज्याकेटबारे चालकहरु जानकारी भएपनि कसरी–कताबाट लिने भन्ने थाहा नभएको बताउँछन् ।

माइक्रोबस चालकलाई पनि ज्याकेटबारे थाहा त छ तर सम्भव नभएकाले प्रयोग नगरेको जवाफ दिन्छन् ।

माइक्रोबस चालक र सहचालकका लागि उपलब्ध गराएको ज्याकेट अभावले नियम कार्यन्वयनमा नआएको ट्राफिक महाशाखाको भनाइ छ ।

पछिल्लो समय ट्याक्सीको छतमा पहेंलो अक्षरले ट्याक्सी लेख्ने नियम भने ९० प्रतिशत कार्यान्वयनमा आएको प्रहरीको दाबी छ ।

यीबाहेक मादकपदार्थ सेवन अर्थात् ‘मापसे चेकिङ’ भने वर्षौंसम्म प्रभावकारी कार्यान्वयनमा आएकाले ट्राफिक प्रहरीको सफलता नै मान्नुपर्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...