एसियाली खेलकुद : १८ खेल सकिँदासम्म नेपाल पदकविहीन

news

जकार्ता, भदौ १० । एसियाली खेलकुदमा आजसम्म नेपालको कुल १८ खेल सकिएका छन् ।

यी १८ खेलमध्ये भारोत्तोलनमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले सफलता हात पार्न सकेका छैनन् । नेपालले पदकको आशा गरेका खेलहरु तेक्वान्दो र उसुमा यसपटक निराश हुनुप¥यो ।

कराँतेका पनि सुरुवाती दुई दिन प्रतिस्पर्धा गरेका ६ खेलाडीले पदक जित्न सकेनन् । यो बाहेक नेपालले साईक्लिङ, फेन्सिङ, सुटिङ, पौडी, कुस्ती, पेनकेक सिलात, थ्री अन थ्री बास्केटबल, आर्चरी, क्लाईम्बिङ स्पोर्ट्स, ब्याडमिन्टन, कबड्डी, गल्फ, टेनिस, भलिबल र फुटबलमा आफ्ना सबै खेल खेलिसकेको छ । अहिलेसम्म कुल १२३ खेलाडी रित्तै हात घर फर्किएका छन् ।

यसमा पुरुषतर्फ ९० तथा महिलातर्फ ३३ खेलाडी रहेका छन् । १८ औं एसियाडमा नेपालले कुल २९ खेलमा १८७ खेलाडी सहभागी गराएको छ । 

एसियलाी खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ । चीनले कुल ७३ वटा स्वर्ण पदक जित्दा ३९ स्वर्ण पदकसहित जापान दोस्रो स्थानमा आएको छ । दक्षिण कोरियाले २५ स्वर्ण पदक जित्दा ईरानले १४ वटा स्वर्ण पदक तथा आयोजक इन्डोनेसियाले १२ वटा स्वर्ण पदक जितेको छ ।

दक्षिण एसियाली मुलुकमध्ये भारतले सबैभन्दा बढी ७ स्वर्ण पदक जितेको छ । पाकिस्तानले २ वटा कास्य पदक जित्दा अफ्गानिस्तानले एक कास्य पदक हात पारेको छ ।

नेपाल, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान भने पदकविहीन छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...