नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

news

काठमाडौं, भदौ ११ । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली सोमबार मलेसियातर्फ प्रस्थान गरेको छ ।

एसिया कप छनोट खेल सोमबारदेखि मलेसियामा सुरु हुँदैछ ।

श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली सोमबार मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

नेपालले श्रीलंकामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो ।

नेपाल उच्च मनोबलका साथ मलेसिया जान लागेको शिवाकोटीले बताए ।

एसिया कपको छनोट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएई), हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।

नेपालले छनोट खेल ओमानसँग भदौ १३, युएईसँग भदौ १४, मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ ।

उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एसिया कपमा सहभागिता जनाउनेछ । सो प्रतियोगिता भदौ २८ देखि असोज १२ गतेसम्म युएईमा हुनेछ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...