कमल थापा भन्छन्– यसकारण राजसंस्था आवश्यक छ (भिडियो)

news

काठमाडौं, भदौ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको सामाजिक विविधता, भूराजनीतिक अवस्थालाई हेर्ने हो भने चुनावी प्रतिश्पर्धाभन्दा माथि एउटा साझा संस्था, राष्ट्रिय एकताको प्रतीकका रुपमा राजसंस्था आवश्यक रहेको बताएका छन् ।

ईमेज च्यानलसँग अन्तरवार्ता दिँदै उनले नेपालजस्तो भूराजनीतिक अवस्था भएको देश र धार्मिक सामाजिक परिवेश भएको मुलुकमा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता उपयुक्त नहुने प्रष्ट पारेका छन् । उनले धर्मनिरपेक्षता, गणतन्त्र, संघीयतामा जनताको प्रत्यक्ष मत नलिइएको स्पष्ट पार्दै विगतमा प्रमुख दलहरुले गरेका गल्तीलाई संविधानकै दायरामा रहेर सच्याउन आफूहरु जनतामा जाने उल्लेख गरे ।

यो संविधानको आत्मा भनेकै विचारको स्वतन्त्रता, आवधिक निर्वाचन, सरल संशोधनीय व्यवस्था भएको उनको भनाइ थियो । संविधानभित्रै रहेर यसमा रहेका कमी कमजोरी सच्याएर अघि बढ्न सकिने विश्वासका साथ आफूहरुले संविधानलाई आलोचनात्मक समर्थन गरेको पनि उनले प्रष्ट पारे ।

आन्दोलनकारी र दरबारबीच भएको सम्झौताको स्प्रिट विपरीत संविधान बन्नु अघि नै राजसंस्थालाई पाखा लगाउनु गलत भएको उनले बताए ।

२५० वर्षको शाहवंशीय राजतन्त्रको इतिहास हेर्ने हो भने अधिकांश समय राजाले शासन गरेनन्, अरुमार्फत नै शासन भएको जिकिर गर्दै उनले विगतमा भएका कमी कमजोरी र गल्तीका सबै दोष राजसंस्थालाई मात्र दिनु गलत हुने बताए ।

हेर्नुहोस् भिडियो

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया