सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान, यामसाजन सुनार ट्र्याकमा देखिएनन्

news

जकार्ता, भदौ १२ । एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालका सोमबहादुर कुमालले पुरुष ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा हिजो बेलुकी भएको ८ सय मिटर छनौट चरणमा कुमालले १ मिनेट ५०.२५ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । २७ खेलाडी सहभागी यो स्पर्धामा कुमाल १३ औं भए । यसअघि यो कीर्तिमान धनीराम चौधरीको नाममा थियो ।

चौधरीले सन् १९९५ मा भारतको मद्रासमा भएको दक्षिण एसियाली खेलकुदको क्रममा १ मिनेट ५०.६१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

एथ्लेटिक्सकै पुरुष दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार अनुपस्थित रहे । आज बिहान भएको प्रतिस्पर्धाको चौथो हिटमा रहेका यामसाजन सुनार खुट्टामा समस्या आएको कारण देखाउँदै ट्र्याकमा उपस्थित भएनन् ।

उनी आजै बिहान काठमाडौं फर्किसकेको बताईएको छ । यामसाजनले यसअघि गत शनिबार पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

अब एथ्लेटिक्सतर्फ नेपालका विश्वरुपा बुढाले महिला ५ हजार मिटर दौड तथा सरस्वती भट्टराईको महिला १५ सय मिटर दौडमा खेल्न बाँकी छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...