पाराग्लाइडिङमा अन्तिम चरणको खेलपूर्व नेपाल दोस्रो स्थानमा, पदकको सम्भावना

news

निरञ्जन अधिकारी (इमेज)

जकार्ता, भदौ १२ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को पाराग्लाइडिङतर्फ नेपालको उत्कृष्ट प्रदर्शन जारी छ ।

पुरुष क्रसकन्ट्रीतर्फ पाँचमध्ये चौथो चरणका खेलहरु सकिँदा नेपाल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

इन्डोनेसियाको पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार भएको चौथो चरणको खेलमा नेपालले २७ सय ९८ अंक स्कोर गर्‍यो । समग्रमा भने नेपालले ८ हजार ५९१ अंक स्कोर गरेको छ ।

नेपालभन्दा ७६८ अंक बढी स्कोर गरेको जापान अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । तेस्रो स्थानको दक्षिण कोरियाको ८ हजार अंक छ ।

नेपालले अब पाँचौं तथा अन्तिम चरणमा बुधबार (भोलि) प्रतिस्पर्धा गर्नेछ ।

१८औं एसियाडमा अहिलेसम्म पदक जित्न नसकेको नेपालले बुधबार पाराग्लाइडिङबाट पदक जित्नसक्ने प्रवल सम्भावना छ ।

पाराग्लाइडिङको पुरुष क्रसकन्ट्री टिम इभेन्टमा नेपालका विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा सहभागी छन् ।

यसैगरी, क्रसकन्ट्रीकै महिला टिम इभेन्टमा नेपाल छैटौं स्थानमा यथावत् छ ।

मंगलबार चौथो चरणमा २१६ अंक स्कोर गरेको नेपालले समग्रमा ११ सय ६२ अंक जोडेको छ । शीर्ष स्थानको दक्षिण कोरियाको ४ हजार ३३९ अंक छ ।

महिला टिम इभेन्टमा नेपालका प्रतिभा भुजेल, ट्रिसा बोम्जन र सविता तामाङले प्रतिस्पर्धा गरिरहेका छन् ।

पाराग्लाइडिङको क्रसकन्ट्रीतर्फ महिला र पुरुष टिम इभेन्टका अन्तिम चरणका खेलहरु बुधबार सकिनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...