मध्यपुरमा साक्षात देवीदेवता प्रकट हुने विचित्रका नाच

news

-केके मानन्धर

इतिहास मै पहिलो पटक मध्यपुरमा एकैसाथ धेरै नाचहरु प्रदर्शनीमा आएको छ । आनुष्ठानिक र तान्त्रिक गुह्य पूजा विधिमा आधारित यी नाचसँगै हजारौं मध्यपुरबासीहरु पनि जुटेका हुन् । घनत्व बढी भएका पुराना बस्ती मध्ये बोडेमा यस वर्ष १२ वर्षे नीलबाराही नाच, नगदेशमा महाकाली तथा थिमिको साबिक चपाचो र बालकुमारीमा पाँच फरक नाचहरु प्रदर्शनीमा आएका छन् । सांस्कृतिक र धार्मिक महत्व बोकेका यी अमूर्त सम्पदाले कपियत ठाउँमा बन्द भएको एक दशक पश्चात जीवन पाएको छ भने बाँकी ठाउँमा निरन्तरता । हुन पनि २०५४ सालमा स्थापना भएको नगरको नारा “हाम्रो कला हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति” हो । यस वर्ष सम्पूर्ण मध्यपुरबासीको संस्कृतिप्रतिको समर्पनले नगरको नारालाई चरितार्थ गर्ने संकेत गरेको छ ।

विगतका वर्षहरुमा निश्चित ठाउँमा सीमित नाचहरु मात्र प्रदर्शनीमा आएका थिए । तर यस वर्ष भने सम्भवतः इतिहास मै पहिलो पटक एकैसाथ धेरै नाचहरु अस्तित्वमा देखियो । “यो वर्ष धेरै नाचहरु देखाइएका छन् । पहिला मलाई थाहा छैन” छयास्सी वर्षका स्थानिय मोहनलाल मानन्धरले जनाए। उहाँको भनाइ अनुरुप पनि नौ दशक यता मध्यपुरमा एकैसाथ यो वर्षको जस्तो धेरै नाचहरु प्रदर्शनीमा आएका छैनन् । शुरुका समयमा नाच सम्बन्धित लिखित दस्ताबेज कमै भेटिने भएर पनि यो वर्ष मध्यपुरमा स्थानियबासीको संस्कृति मोह अधिक भएको दर्साउँछ ।

बोडेको नीलबाराही नाचः

मध्यपुर थिमिको साबित वडा नं. १, २ र ३ लाई बोडे नगरको रुपमा बुझ्नुपर्छ । यहाँ हरेक वर्ष बिस्केट जात्रामा जिब्रो छेड्ने तथा नेपाल संवत् अनुसार गुंलागा (दसौं महिना) दुतियादेखि नीलबाराही नाच नचाइँदै आएको छ । चार दिन सम्म विभिन्न देवगणका मुकुन्डो लगाएर नचाइने नीलबाराही नाच अन्तर्गत यस वर्ष १२ वर्षे मेला परेकोले एक दिन थप गरेर पाँच दिन सम्म हुने स्थानिय रमेश थापा श्रेष्ठले बताए । नीलबाराही नाचलाई राति, बिहान र दिउँसो नगरका भित्री टोल देखि चोकमा देखाउने गरिन्छ । बोडेको नारायणथान लाछिबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर समापन गर्नुपर्ने परम्परा छ ।

तान्त्रिक नियममा बाँधिएर रहनुपर्ने यो नाचलाई प्रत्येक टोल तथा चोकमा धा बाजाको तालमा भुस्याः, काँय र पोङा बजाएर नचाइन्छ । नीलबाराही देवीले मानवको रुप धारण गरी बोडे नगरका स्थायी बासिन्दा मध्ये स्थानीय धों थरका एक जनालाई जंगलमा लगेर चार दिनसम्म गोप्य तबरले नाचको सम्पूर्ण विधि सिकाएदेखि यो नाचले निरन्तरता पाएको किंवदन्ती छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, दिसापिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने कडा प्रावधान रहेको छ ।

यसमा समूहगत देवगण मध्ये भैरव, द्वारपाल, बाराही, कुमारी, गणेश र सिंह गरी १९ व्यक्तिको सहभागिता रहन्छ । ती फरक देवदेवीका गण नाचको लागि कम्तीमा १०० जनाको संख्यामा सहयोगी आवश्यक हुन्छ । यस वर्ष १२ वर्षे मेला अन्तर्गत “खः त्यलेगु प्याखँ” को रुपमा नीलबाराही गणलाई विगतका वर्षमा भन्दा पृथक शैलीमा नचाइएको छ ।

नगदेशको महांकाली नाचः

नेपाल संवत् ६३३ मा राजा सुवर्ण मल्लले भक्तपुरमा नवदुर्गा नाच, बोडेमा नीलबाराही गणनाच, थिमि र नगदेशमा महांकाली तथा भैरव नाचको प्रारम्भ गरेका हुन् । अनिकाल परेको राज्यमा सहकाल र शान्तिको कामना गर्दै विभिन्न देवदेवतालाई पुकारेर देवगणहरुको नाच शुरु गरेको बताइन्छ । करिव पाँच सय वर्षको इतिहास बोकेको महांकाली नाचलाई किंवदन्तीसँग जोडेको पनि पाइन्छ । नगरमा दुःख दिने भूत, पिचास, दैत्य भगाउन देवगणको नाच शुरु गरिएको स्थानियबासीको मान्यता हो । महांकाली नाच पनि गाइजात्राको भोलिपल्ट देखि चार दिनसम्म नचाइन्छ । तर यस वर्ष नगदेशमा भाद्र १५ र १६ गते दुई दिन मात्र नचाइने बताइएको छ ।

“नगदेश सांस्कृतिक पुचः” नामक संस्था गठन गरी महांकाली नाचलाई निरन्तरता दिन अक्षयकोषको स्थापना गरिएको स्थानिय स्वस्थानी वैद्य (महांकाली नाचका कलाकार)ले जनाए । केहि दशक यतादेखि मध्यपुरको ७ नं. वडा (साबिक वडा नं. ४, ५ र ६) नगदेशमा यो नाच निश्चित वर्ष बन्द हुने र पुनः सञ्चालनमा आउने क्रम जोडिंदै आएको देखिन्छ । यो क्रमभंग तोड्न पनि स्थानिय युवाको सक्रियतामा अक्षयकोष बनाइएको हो ।

थिमिको चपाचोमा भैरव नाचः

२०७० सालमा आयोजना गरिएको भैरव नाच पाँच वर्ष बन्द भएर पुनः यस वर्ष चपाचोको नासःननीमा सन्चालनमा आएको थिमि भैलः प्याखँ व्यवस्थापन समितिका सचिव विकास प्रजापतिले जनाए । यसअघि स्थानीय युवाको पहलमा मध्यपुर थिमि वडा नं. १० को तुलननी र कुमाननीमा भैरव नाच नचाइएको थियो । यो नाच पनि भाद्र कृष्णपक्ष द्वितिया देखि शुरु भएर चार दिन सम्म नचाइने परम्परा छ । यस वर्ष भाद्र १२ गते देखि थिमिका भित्री टोल तथा चोकमा भैरव नाच नचाइरहेको छ ।

जम्मा पाँच कलाकार रहने देवगणको टोलीमा यस वर्ष ज्यापुंगःको भूमिकामा आकास प्रजापति, प्रथम भैरवको रुपमा सुनिल प्रजापति, अन्तिम भैरवको रुपमा समीर शंखदेव तथा दुई दागिं (कुमारी)को रुपमा सुशन र सुजन प्रजापति छन् । भैरव नाचमा एक दर्जन दागः (काठ र छालाबाट बनेको बाजा), आठ वटा भुस्याः बाजा, आठ जनाले पोङा बाजा र मुहाली (सनई) बजाउने गरिन्छ । ति सम्पूर्ण कलाकारले भैरव नाचको लागि करिव एक महिना अघि देखि तयारी थालेका हुन् । सम्भवतः मध्यपुर थिमि कै सबभन्दा बढी गुरुहरुले संयुक्त रुपमा यो टोलमा भैरव नाचको प्रशिक्षण दिएका छन् ।

मानार्थ मूल गुरुका रुपमा जीवित सांस्कृतिक धरोहरको उपाधि पाएका श्री श्रीगोपाल प्रजापति देखि अन्य गुरुहरुमा कृष्णबहादुर, प्रेमकाजी, चन्द्रभक्त, बालकृष्ण प्रजापति रहेका छन् । धा बाजाका ३० देखि ३२ तालमा नचाइने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नित्यनाथ (नासःद्यो)को प्रांङणमा भने अनिवार्य नचाउनै पर्ने बताइएको छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर, निराहार बस्नुपर्ने कडा प्रावधान रहेको छ ।

भैरव (भैलः) नाचमा ८ देखि १२ वटा धा बाजा बजाइन्छ । धा बाजालाई साथदिन ८ जोडी भुस्याः, ४ वटा म्वायली र चारैवटा पोङा बजाइन्छ । यी बाजाहरुको सांगीतिक माहौलमा ज्यापुंगः, प्रथम भैरव, अन्तिम भैरव, दुई कुमारी क्रमबद्ध रुपमा नाच्दै आउँछन् । तिनीहरु भन्दा अगाडी एउटा चिलाख बत्ती हुन्छ भने बाजा समूह र गुरुहरु पछिपछि लाग्छन् । ठाउँ र परिस्थिति अनुरुप तालहरु फरक फरक बजाइन्छ । भैलः गः, नासः गः, भुस्याः गः, पों गः, फाकुचा गः, बाराही गः, सिं गः, बेताः गः, ब्याँ गः, लगायत मूख्यतया १२ गः तथा अन्य विविध तालहरु रहेका हुन्छन् । भैरव नाचको मूख्य आकर्षणको रुपमा नाचका क्रममा नाच्ने कलाकारहरुमा साक्षात देवीदेवता प्रवेश भइ द्यः खाइगु भनी काम्ने हुन्छ । यस्तो काम्ने बखतमा सो कलाकारले केहि पनि चाल नपाउने हुन्छ । यस प्रकारको काम्ने कार्य द्यः खाइगु गर्दा २ मिनेट देखि ३ घण्टा सम्म पनि भएका उदारहणहरु छन् । यसो हुनुको मूल कारण नाच निकाल्नुपूर्व गरिने तान्त्रिक पूजा खात्सिल विधिबाट सिउ राख्ने मात्रामा आधारित हुन्छ । नेवार समुदायमा भैरवको स्थान उच्च रहेको भएर पनि कुल देवताका रुपमा पुज्ने देखि नाच देखाउने परम्परा कायम रहेको देखिन्छ ।

थिमिको बालकुमारीमा अष्टमातृका, भष्मासुर मोहिनी, महांकाली र इन्द्र अप्सरा नाचः

यस वर्ष मध्यपुरको लायकूस्थित बाकुननी (साबिक बालकुमारी) मा अष्टमातृका, भष्मासुर मोहिनी र महांकाली गरी तीन फरक किसिमका नाच आयोजना गरिएका छन् । मानार्थ गुरु श्री श्रीगोपाल प्रजापतिको संरक्षणमा गुरुहरु अर्जुन श्रेष्ठ र निरन्जन श्रेष्ठले ती नाचलाई नेतृत्व गरेका छन् । भाद्र १२ गते देखि प्रत्येक साँझ करिव ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै पुराना बस्तीका टोल तथा चोकमा नाच नचाइँदै आएको छ । यो नाच दथुटोल, दिगुटोल, चपाचो, पोवु, भुँलाखेल, वाःननी हुँदै अन्य टोलमा परिक्रमा गराउनुपर्ने प्रचलन छ ।

यो नाचमा महांकाली, महालक्ष्मी, कुमारी, सिंह, मयुर, महिसासुर दैत्य, भूत भैरव, कवां, ख्याक र माकः (बाँदर) गरी जम्मा १८ कलाकारहरुको सहभागिता रहन्छ । नाचको सुरुआत र समापनमा विशेष पूजाआजा गरिन्छ । महांकाली नाचमा २१ फरक बाजाका ताल रहेकोमा सोही अनुरुप देवगण रुपी कलाकारहरुको नाच देखाइन्छ । नाचमा बालक देखि बृद्धा सम्मको आ–आफ्नै भूमिका रहन्छ । त्यस्तै इन्द्र अप्सरा नाचको सन्दर्भमा केहि वर्ष यतादेखि स्थानिय कायष्थ र बाके श्रेष्ठ थरका समुदायले प्रशिक्षण दिएर नाचलाई निरन्तरता दिएको पाइन्छ ।

मूल गुरुको रुपमा ज्ञानलाल कायष्थ र कृष्णमान बाके श्रेष्ठको प्रशिक्षणमा इन्द्र, अप्सरा तथा बसुवाः गरी पाँच जना कलाकारले प्रत्येक वर्ष नाच देखाउने गरेका छन् । खिं बाजाको तालमा ताः बजाएर इन्द्रको वरपर चार जना अप्सरा तथा एक जना सेतै फुलेको दाह्री भएका बसुवाःको नाच अति नै रोमान्चित देखिन्छ ।

आर्थिक पक्षः

विगत केहि समय क्रमभंग भएका महांकाली, भैरव देखि मध्यपुरका अन्य सम्पूर्ण नाच पछिल्लो समय जुरमुराएको छ । विशेषगरी आर्थिक तथा भौतिक समस्याका कारण थलिएका अमूर्त सम्पदाले स्थानिय निकायको प्रोत्साहनसँगै जीवन पाएको हो । यस वर्ष स्थानिय निकायले संस्कृति संरक्षणको शिर्षकमा ३१ लाख ५० हजार बजेट विनियोजन गरेको छ । मध्यपुर थिमि नगरपालिका अन्तर्गत संस्कृति संरक्षण समितिका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिले नगरको संस्कृति संरक्षण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए । बोडेको नीलबाराही नाचको लागि ३ लाख पचास हजार, नासःननी भैरव नाचको लागि २ लाख पचास हजार, लायकूको महांकाली नाचको लागि २ लाख तथा इन्द्र अप्सरा नाचको लागि एक लाख विनियोजन भएको छ । यस वर्ष इन्द्रजात्राको सन्दर्भमा थिमिमा जिब्रो छेड्ने जात्रादेखि अन्य वर्षभर गरिने फरक सांस्कृतिक गतिविधि संरक्षणको लागि नगरपालिकाले प्राथमिकता दिएर बजेट छुट्याएको बताएइको छ ।

संस्कृति, सम्पदा देखि सुसंस्कार आफैमा नगर र नगरबासीको पहिचान हो । यसलाई सरोकारवाला पक्षले संरक्षण गर्नुपर्ने दायित्व पनि हो । तर यी र यस्ता संस्कृति देखाएर बाह्य पर्यटक आकर्षित गर्ने देखि नाचको महत्व, विशेषता र मान्यतालाई लिपिबद्ध गर्नु अर्को आवश्यकता हो । संस्कृतिको शिर्षकमा यति धेरै बजेट विनियोजन भएसँगै यसको औचित्य तथा गुणात्मक परिणाम पुष्टि गरेर दीर्घकाल सम्म सुखद् प्रभाव देखिनुपर्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया