तीन दिन बदली र वर्षा

news

काठमाडौं, भदौ १४ । आगामी तीन दिनसम्म देशभरि नै सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै बिहीबार दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक/दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औंल्याएको हो ।

बिहीबार राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्णबदली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पश्चिम नेपालको विशेषगरी तराई र चुरे भू–भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भदौ १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्णबदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार सबैभन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको छ । ओखलढुंगामा ६४, सिमरामा ५२, वीरेन्द्रनगरमा ५४ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा २३ मिलिमिटर वर्षा भएको छ ।

बिहीबार काठमाडौंको अधिकतम् तापक्रम २९.२ र न्यूनतम् तापक्रम २३.९ रहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया