सिरियाको इड्लिबमा भएको द्वन्द्वका बारेमा टर्की र रुसको फरक–फरक मत

news

काठमाडौं । सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक–फरक मत व्यक्त गरेका छन् ।

टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतंककारीलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ ।

इरान, टर्की र रुसका शीर्ष नेताहरुको तेहरानमा भएको शिखर बैठकमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इडलिबमा रूसी हवाई हमला भएपछि युद्वबिराम गर्न आह्वान गरेका हुन ।

उनले युद्धविरामलाई सुनिश्चित गर्न सकिए एउटा महत्वपूर्ण कदम हुने भएकाले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरे ।

तर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो क्षेत्रलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गर्दै आक्रमण जायज र आवश्यक रहेको जिकिर गरे ।

उनले टर्कीले राखेको प्रस्ताव अस्वीकार्य हुने र रुसी सेनाले सिरियाली सेनालाई इडलिब आक्रमणमा साथ दिइरहने बताए ।

शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको थियो ।

सिरियामा विगत सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् ।

सन् २०१५ देखि त उनीहरूले उक्त शहर कब्जा नै गरेका थिए । यहाँका विद्रोहीलाई टर्कीको समर्थन रहिआएको छ । त्यस्तै सरकारी सेनालाई छिमेकी रूस र इरानको समर्थन छ ।

त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।

सात वर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म ३ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित छन् ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...