पर्वत–पोखरा सुरुङमार्ग चार वर्षभित्रै तयार : मन्त्री लम्साल

news

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, भदौ २७ । गन्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तीज मेलाको उद्घाटन गर्दै मन्त्री लम्सालले पर्वतसहित चार जिल्लालाई प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने सुरुङमार्गको अहिले विस्तृत् अध्ययन भइरहेको जानकारी दिए ।

उनले अबको चार वर्षभित्रमा सो सुरुङमार्ग पूर्णरुपमा सम्पन्न गर्ने दाबी गरे ।

पोखरामा आउने आन्तरिक पर्यटकहरुलाई अरु जिल्लाहरुमा पनि पुर्‍याउनका लागि २०० ओटा सुविधासम्पन्न होटलहरु स्थापना गर्नेतर्फ पनि प्रदेश सरकार लागेको उनले बताए ।

अबको पाँच वर्षभित्रमा प्रदेशमा ३०० ओटा होमस्टे सेवा तयार गरिने उनको भनाइ छ ।

उनले पर्यटन र वनको माध्यमबाट मुलुककै अर्थतन्त्रको विकासका लागि गन्डकी प्रदेशले विशेष कार्ययोजनाहरु अघि सारेको बताउँदै संघीय सरकारले पनि पूर्णरुपमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

अब केन्द्रको मुख ताक्नेभन्दा पनि प्रदेश सरकार आफैं आत्मनिर्भर हुनेतर्फ अघि बढेको भन्दै उनले वार्षिकरुपमा २० लाख पर्यटक भित्र्याउनेगरी पूर्वाधारहरु तयार भइरहेको बताए ।

मन्त्री लम्सालले पोखरालाई ‘ग्रेटर सिटी’ र अरु आपसापका जिल्लाहरुलाई ‘स्याटलाइट सिटी’कारुपमा विकास गर्नेगरी प्रदेशले बजेट तथा नीति तयार गरेको उल्लेख गरे ।

उनले गन्डकी प्रदेशले सुरुङमार्गको योजनालाई प्राथमिकतमा राखेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया