राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्रले जित्यो

news

प्रदीप पौडेल (इमेज)

पोखरा भदौ २७ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार पोखराको लामाचौरमा भएको प्रतियोगिताको फाइनल खेलमा सशस्त्रले चिरपरिचित प्रतिद्वन्द्वी काठमाडौंको न्यू डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्‍यो । सशस्त्रले लगातार दोस्रो वर्ष उपाधि चुमेको हो ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको भलिबल कोर्टमा भएको फाइनलमा सशस्त्रले २५–२०, १८–२५, २५–१७ र २५–२१ को सेटमा न्यू डायमन्डलाई हराएको हो ।

पोखरेली दर्शकको साथ पाएको न्यू डायमन्डले दोस्रो सेटमा जित हासिल गरे पनि अरु सेटमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा यो वर्ष पनि उपविजेतामा सीमित भएको हो ।

उपाधिसँगै सशस्त्रले एक लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको न्यू डायमन्डले ६५ हजार रुपैयाँमा चित्त बुझायो ।

खेलकाक्रममा ठूलो वर्षा भएपछि खेल पटक–पटक रोकिएको थियो ।

तेस्रो स्थानका लागि बुधबारै भएको खेलमा त्रिभुवन आर्मी क्लबले चितवन टाइगरलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । आर्मीले चितवन टाइगरलाई २५–१८, २५–१८ र २५–१८ को सेटमा पराजित गर्दै पुरस्कारस्वरुप २५ हजार रुपैयाँ जित्यो ।

प्रतियोगितामा सशस्त्रकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाइन् ।

यस्तै, उत्कृष्ट स्पाइकर न्यू डायमन्डकी प्रतिमा माली, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, उत्कृष्ट सेटरमा सशस्त्रकी शसी चौधरी, उत्कृष्ट डिफेन्समा न्यू डायमन्डकी शैलेन्द्र श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा सशस्त्रका ज्ञानेन्द्र विष्ट, उत्कृष्ट सर्भरमा न्यू डायमन्डकी झरना श्रेष्ठ र क्विक स्पाइकरमा सशस्त्रकी हीरा केसी घोषित भए । विभिन्न विधामा उत्कृष्ट भएकालाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा तीन दिनसम्म चलेको प्रतियोगितामा दुई विभागीयसहित पाँच टिमको सहभागिता रहेको महोत्सव प्रसार संयोजक धर्ममानसिंह भण्डारीले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया