अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि जग्गा दिने भरतपुर महानगरको औपचारिक निर्णय

news

राजु चौधरी (इमेज)

चितवन, भदौ २८ । चितवनको भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का लागि जग्गा दिने औपचारिक निर्णय गरेको छ ।

बुधबार भएको महानगरको बोर्ड बैठकले रंगशाला निर्माणका लागि रामपुरमा रहेको २० विगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगरपालिकाका मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि औपचारिकरुपमै सबैको सहमतिमा जग्गा दिने निर्णय गरिएको इमेजखबरलाई जानकारी दिइन् ।

‘रामपुरमा रहेको २० विगाहा जमिन रंगशाला निर्माणमा प्रयोग गरिनेछ’–उनले भनिन्–‘यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सट्टाभर्ना गरी १५ विगाहा जमिन अन्य क्षेत्रमा दिने निर्णय भएको छ ।’

भरतपुर महानगरले सट्टाभर्ना गरी भरतपुर–२० मा रहेको भीमदेवी आधारभूत विद्यालयले भोगचलन गर्दै आएको १५ विगाहा जमिन कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)लाई दिने निर्णय गरेको हो ।

यो निर्णय एएफयुलाई जानकारी गराइसकिएको मेयर दाहालको भनाइ छ ।

अब एएफयुले जग्गा दिने निर्णय गर्नेबित्तिकै धुर्मुस–सुन्तली फाउन्डेसनसितको महानगरको सहकार्यमा रगंशाला निर्माणमा अघि बढ्ने मेयर दाहालले बताइन् ।

यसअघि, भरतपुर महानगरले रंगशाला निर्माणका लागि जग्गा दिने उद्घोष गरेपछि धुर्मुस–सुन्तली फाउन्डेसनका पदाधिकारीले चितवनमा आएर जग्गा हेरेका थिए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशासक पुष्पविमल भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा दिने प्रस्ताव शुक्रबार (भोलि) बस्ने सिनेट बैठकमा लगिने जानकारी दिए ।

उनले भने–‘महानगरले रगंशाला निर्माणका लागि जग्गा दिने निर्णय गरेपछि हामीलाई प्रस्ताव लैजान सघाउ पुगेको छ । यो निर्णय हुनेबित्तिकै रगंशाला निर्माणका लागि बाटो खुल्छ ।’

एएफयुका प्रशासक भण्डारीले रामपुरमा रहेको ३३५ विगाहा जग्गामध्ये ४० विगाहा त्रिभुवन विश्वविद्यालयलाई दिने मन्त्रिपरिषद बैठकबाट निर्णय भइसकेकोले सोहीअनुसार रंगशाला निर्माणका लागि जग्गा दिन लागिएको बताए ।

‘महानगरले हामीलाई सट्टाभर्ना गरी भोगचलनका लागि जग्गा दिने निर्णय गरेको छ’–उनले भने–‘हामीले पनि भोगचनलका लागि नै रंगशाला निर्माणका लागि दिने तयारी गरेका हौं ।’

प्रशासक भण्डारीकाअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एएफयुको सिनेट बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकले रंगशाला निर्माणको विषयमा निर्णय गर्नेछ ।

चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुने खबरले यहाँका खेलप्रेमीका साथै समग्र चितवनवासी नै खुसी छन् ।

विभिन्न नमुना बस्ती निर्माण गरी थप चर्चा कमाएका हास्यकलाकार सीताराम कट्टेलले नै रंगशाला निर्माण गर्ने उद्घोष गरेपछि रंगशाला निर्माण हुनेमा चितवनवासी आशावादी छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया