नेपाली फुटबल टोली स्वदेश फर्कियो

news

काठमाडौं, भदौ २८ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ ।

नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

बंगलादेशमा भएको साफको १२औं संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै घर फर्किएको हो ।

समूह विजेताकारुपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग ३–० को हार व्यहोरेको थियो ।

समूह चरणमा नेपालले बंगलादेश र भुटानमाथि शानदार जित निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र खेल प्रशंसकहरु नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

समूह चरणमा श्रीलंकासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २–० ले पराजित भएको थियो । श्रीलंका पनि भारतसँग २–० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको गोलाप्रथामा माल्दिभ्सले बाजी मारेको थियो ।

समूह चरणको खेलमा एक गोल पनि नगरी सेमिफाइनलमा आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३ गोल गरेको हो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया