रोयटर्सका दुई पत्रकार पक्राउ परेको विषयमा सुचीबाट सरकारको प्रतिरक्षा

news

काठमाडौं, भदौ २८ । म्यानमारकी नेत्री आङ साङ सुचीले अन्तर्राष्ट्रिय निन्दाका बाबजुद् रोयटर्सका दुईजना पत्रकार पक्राउ परेको विषयको प्रतिरक्षा गरेकी छन् ।

सुचीले म्यानमारका पत्रकार वा लोन र क्याव सोओले कानुन उल्लंघन गरेको र उनीहरुमाथिको सजाय वाकस्वतन्त्रताविरुद्ध लक्षित नभएको जिकिर गरिन् ।

सजाय पाएकाहरुलाई पत्रकार भएका कारण नभइ अदालतले गोपनीयता कानुन उल्लंघन गरेको अभियोगमा सजाय दिएको उनले बताइन् । पत्रकारद्वयलाई सात/सात वर्षको जेल सजाय सुनाइएको छ ।

सुचीले रोहिंग्याको अवस्थालाई सरकारले फरक किसिमले हेरिरहेकोसमेत बताइन् ।

नेत्री सुची रोहिंग्या संकट र पछिल्लो समयमा पत्रकार पक्राउको विषयलाई लिएर चर्को दबाबमा छिन् ।

गत वर्षयता त्यहाँको सेनाको दमनका कारण रखाइन प्रान्तबाट कम्तीमा सात लाख रोहिंग्या छिमेकी मुलुक बंगलादेश पलायन भएका छन् ।

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाका उच्च अधिकृतलाई रोहिंग्या नरसंहारको सम्बन्धमा अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएको छ ।

रोयटर्सका दुई पत्रकारले रोहिंग्यामाथि भएको हिंसाको सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङ गरिरहेका थिए । पत्रकारहरुले भने आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताउँदै आएका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया