संघीयताको विरोध नगर्न भन्दै मलाई १० करोडको लोभ देखाए : चित्रबहादुर

news

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ २८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नेपालजस्तो देशले धान्नै नसक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने दोहोर्‍याएका छन् ।

बिहीबार कैलालीको धनगढीमा एक श्रद्धाञ्जलिसभामा बोल्दै केसीले संघीयताको कडा आलोचना गरे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले प्रदेश सरकारलाई खारेज गर्दै प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा देश सन्चालन गर्नुपर्ने धारणा राखे ।

प्रदेश सरकार आवश्यक नरहेको भन्दै उनले स्थानीय तहलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष केसीले संघीयताको विरोध नगर्न भन्दै आफूलाई १० करोड रुपैयाँको लोभ देखाइएकोसमेत खुलासा गरे ।

पार्टी सानो भएकाले पार्टी चलाउनका लागि सहयोग हुन्छ भन्दै १० करोड दिन्छु भनेर संघीयताको विरोध नगर्न प्रलोभन देखाइएको उनले बताए ।

निर्वाचनमा वर्तमान सरकारको नेतृत्व गरिरहेका दलसँग तालमेल गर्दै सरकारलाईसमेत समर्थन गरेका केसीले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गरे ।

दुईतिहाइ बहुमतप्राप्त कम्युनिस्ट सरकार बलात्कार, हत्या, हिंसा, महँगी, भ्रष्टाचार रोक्न असफल देखिएको उनको आरोप थियो ।

केसीले अझैपनि राजनीतिक क्रान्ति नसकिएको भन्दै आर्थिक क्रान्ति सीमित व्यक्तिका लागिमात्रै लागू भएको जिकिर गरे । समाजका कुरीति र कुसंस्कार अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया