‘सेमिफाइनलमा मौसमले साथ दिएन’

news

काठमाडौं, भदौ २८ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

मध्याह्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमनास्थलमा उत्रिएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबल समर्थकहरुले स्वागत गरेका थिए ।

समूह चरणमा राम्रो प्रदर्शन गरेको नेपाली टोलीले योपटक पनि सेमिफाइनलको खुड्किलो पार गर्न सकेन ।

समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसित पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेल जित्दै नेपाल समूह विजेता बनेको थियो ।

तर, बुधबार भएको सेमिफाइनलमा नेपालले अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न नसक्दा माल्दिभ्ससँग ३–० ले स्तब्ध भयो ।

यो हारसँगै साफ सुजुकी कप फुटबलको फाइनलमा पुग्दै उपाधि जित्ने नेपालको यात्रामा पूर्णविराम लाग्यो ।

स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान विराज महर्जनले अरु खेल राम्रो भएपनि सेमिफाइनलमा मौसमले साथ नदिँदा सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए ।

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको यो पाँचौपटक हो । यसअघि, सन् १९९५, १९९९, २०११ र २०१३ मा पनि नेपाली टोली सेमिफाइनल चरणमै निराश भएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया