निर्मला पन्त हत्या प्रकरणको छानविन अन्तिम चरणमा छः गृहमन्त्री थापा

news

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानविनको अन्तिम अवस्थामा पुगेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा आज सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यो प्रकरणको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै उहाँले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको  जानकारी दिए । 

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाउने राममनोहर यादवको मृत्यु हिरासतमा नभई उपचारको क्रममा भएको गृहमन्त्री थापाले जवाफ दिएका छन् ।

अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  र पोष्टमार्टम प्रतिवेदनमा पनि चोटका कारण मृत्यु नभएको उनले सदनमा जानकारी गराए ।

रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको विषय राजनीतिक नभई लेनदेनको विवादका कारण गृहमन्त्री थापाले बताए ।

देवबहादुर घर्ती र रोहित मगरबीच विवाद हुँदा गोली प्रहार भएको र उपचारको क्रममा उनको मृत्यु भएको उनको भनाइ थियो ।

देबवहादुरलाई गोलीसहित पक्राउ गरिएको र हाल जिल्ला अदालत रोल्पामा मुद्दा  दायर भएको गृहमन्त्रीले जानकारी दिए ।

पत्रकार राजु बस्नेतको पक्राउबारे पनि सांसदले प्रश्न उठाएका थिए ।

उनले पत्रकार बस्नेतले विद्युतीय कारोबार ऐन उल्ल्घन गरेकोमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया