निर्मला पन्तका हत्यारा जोसुकै भए पनि कारवाही हुनुपर्छ : राष्ट्रपति

news

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तको हत्यारा जोसुकै भए पनि कारवाही गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा उनले बालबालिकामाथि हुने जुनसुकै जघन्य अपराधमाथि राज्य गम्भीर हुनुपर्ने बताइन ।

अहिले बलात्कारका घटना बढ्दै गएको भन्दै राष्ट्रपति भण्डारीले बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताइन् ।

शिक्षा, स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै उनले बालमैत्री संरचना आवश्यक रहेकोमा जोड दिइन ।

उनले बालबालिकाको हक, अधिकार सुनिश्चित गर्नका लागि केही कानुन परिमार्जन गर्नुपर्ने औंल्याइन ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिका देशका कर्णधार भएकाले उनीहरुको हितमा राज्यले काम गर्ने बताइन ।

बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका सबैखाले अधिकारको सुरक्षा गर्न सरकार तयार रहेको उनका भनाइ थियो ।

अन्य वक्ताहरुले भने बालबालिकामाथि हत्या, अपहरण, बलात्कार र दुब्र्यवहार बढ्दैजादा पनि राज्य गम्भीर नभएको आरोप लगाएका थिए ।

कार्यक्रममा बालबालिकाहरुले आफ्ना हक, अधिकार सम्बन्धि संगीत र नृत्य प्रस्तुत गरेका थिए ।   

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया