विशेषज्ञ चिकित्सकको अभावमा स्वाईन फ्लु र हङकङ फ्लुको उपचार कठिन

news

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा विशेषज्ञ चिकित्सकको अभावका कारण स्वाईन फ्लु र हङकङ फ्लुको उपचार सेवा प्रभावित भएको छ ।

प्रकोप वढ्दो क्रममा देखिएपछि नगरपालिकालाई नै ‘विपद क्षेत्र’ घोषणा गरि सकिएको छ ।

तर, बिरामीलाई उपचारका लागि आवश्यक विज्ञेषज्ञ डाक्टर नहुँदा समस्या परेको स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए ।

विशेषज्ञ डाक्टरको अभावले उपचारमा आवश्यक औषधि चलाउन अन्योल देखिएको हो ।

विशेषज्ञ डाक्टरको निगरानीमा मात्र यस्तो औषधि चलाउनुपर्ने भएकाले उपचारमा कठिनाई भएको उनको भनाइ छ ।

नगरपालिकामा १ जनामा स्वाईन फ्लु र ४ जनामा हङकङ फ्लुको संक्रमण भेटिएको छ भने २ हजार १ सय जनामा ज्वरो, रुघाखोकीलगायतको समस्या देखिएको छ ।

ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षणबाट हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।

यता, जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कञ्चनरुपमा फ्लुको समस्या पहिलेको तुलनामा घट्दो क्रममा रहेकाले र भयावह अवस्था नरहेको जानकारी दिएका छन् ।

फ्लुको कारण उक्त नगरपालिकाका ३० वटा बिद्यालय आजबाट थप तीन दिनका लागि बन्द गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...