संसदीय समितिका चुनौती (भिडियो)

news

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)

काठमाडौं, असोज ५ । प्रतिनिधिसभाका १० ओटा विषयगत समितिले नेतृत्व पाएका छन् ।

‘मिनि संसद’कारुपमा रहेका समितिहरुले नेतृत्व पाएसँगै सरकारी काम–कारबाहीको अनुगमन तथा मूल्यांकन र जनपक्षीय कामका लागि दबाब बढ्ने अपेक्षा गरिएको छ ।

संसदीय समितिहरुको मुख्य काम भनेकै कानुन निमार्णसँगै सरकारका काम–कारबाहीको मूल्यांकन, अनुगमन तथा सरकारलाई निर्देशन गर्नु हो ।

जति शक्तिशाली ढंगबाट यी समितिहरुले सरकारका कामको शैलीको अनुगमन गर्दछन्, जनताको पक्षमा काम गर्न सरकार त्यति नै बाध्य हुन्छ ।

विषयगत समितिहरुले आ–आफ्नो भागमा परेका मन्त्रालय र मातहतका सबै निकायहरुको कामहरुको मूल्यांकन गर्नसक्दछन् र दोषी भए त्यसलाई कारबाहीका लागि निर्देशन दिनसमेत सक्छन् ।

यस्ता समितिहरु लामो समयदेखि नेतृत्वविहीन हुँदा सरकारी स्वेच्छाचारितमा अंकुश लागेको थिएन । सरकारले समितिहरुलाई खासै टेरिरहेको थिएन ।

शुक्रबार सबै विषयगत समितिहरुले नेतृत्व पाएसँगै अब यस्तो स्वेच्छाचारितामा कमी आउने अपेक्षा गरिएको छ ।

राजनीतिक सहमतिबाट सभापतिहरुको चयनले संसदले एउटा सकारात्मक सन्देश पनि दिएको छ ।

१० समितिमध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समिति दिइएको छ भने बाँकी समिति सत्तारुढ दलले लिएका छन् ।

जसअनुसार नेपाल कम्युनिस्ट पार्टीले अर्थमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रियमा पवित्रा निरौला, कानुन, न्याय तथा मानवअधिकारमा कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिकमा निरुदेवी पाल, राज्यव्यवस्था तथा सुशासनमा शशी श्रेष्ठ, विकास तथा प्रविधिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्यमा जयपुरी घर्ती, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट सार्वजनिक लेखामा भरतकुमार शाह र उद्योग तथा वाणिज्य समितिमा संघीय समाजवादी फोरम नेपालका बिमल श्रीवास्तव निर्वाचित भएका छन् ।

सबै सभापतिले शुक्रबार नै शपथग्रहण गर्दै पदबहालीसमेत गरेका छन् । निर्वाचित सभापतिमध्ये ६० प्रतिशत महिला छन् ।

विगतमा कतिपय सन्दर्भमा समितिहरु क्षेत्राधिकार विवादमासमेत अल्झिएका थिए । समितिहरुले दिएको निर्देशन पालना नभएको कुरा पनि पटक–पटक आएको थियो ।

समितिका सभापतिहरुलाई शपथ खुवाउँदै सभामुख कृष्णबहादुर महराले  विषयगत समितिहरुले प्रभावकारी ढंगबाट काम गर्ने विश्वास आफूलाई रहेको बताए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...