सहाना प्रधानको स्मतिसभा, ओली र दाहालले यसरी सम्झिए सहानालाई

news

काठमाडौं, असोज ६ । प्रधानमन्त्री तथा कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सहाना प्रधान राजनीतिक जागरणको अगुवा भएको बताएका छन् ।

पार्टी मुख्यालय धुम्वाराहीमा आज आयोजित चौथो सहाना प्रधान स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक परिर्वतनको आन्दोलनमा प्रधानको असाधारण भूमिका रहेको बताएका हुन् ।

कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न सहाना प्रधानको भूमिका स्मरणीय रहेको भन्दै उनले लोकतान्त्रिक आन्दोलनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे । नेपालकोे महिला आन्दोलनमात्र होइन, सिंगो नेपालको राजनीतिक आन्दोलनमा सहाना प्रधानको भूमिका स्मरणीय रहेको उनले बताए ।

अहिले पार्टी एकीकरण स्थानीयस्तरमा पुगेको भन्दै ओलीले पार्टीका जनवर्गीय संगठनलाई प्रभावकारी रुपमा परिचालन गरिने बताए । उनले कार्यकर्तालाई जनतामाझ पुग्न पनि निर्देशनसमेत दिए ।

कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी नेपाल निर्माण गर्न सकिए सहाना प्रधानप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । अहिले नेपालको कम्युनिष्ट पार्टीकाबीच अवसर र चुनौती दुबै रहेको भन्दै दाहालले पार्टीलाई मिलाएर लैजान नसके एउटै डुंगामा सबै डुब्न सक्ने खतरा रहेको पनि बताए ।

उनले अहिले पार्टीभित्र ठूलो जोखिम देखिएको र त्यसलाई नेतृत्वले बुझ्न नसके दुर्घटना हुने बताए । जनअपेक्षाअनुसारको काम सरकारबाट हुन नसकेकोसमेत उनले गुनासो गरे ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र नेता बामदेव गौतमले सहाना प्रधान राजनीतिक दर्शनको ज्ञाता भएको बताए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया