भारत अधीनस्थ काश्मिरका प्रहरी अधिकारीद्वारा धमाधम राजिनामा

news

नयाँ दिल्ली, असोज ६ । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् । 

उक्त क्षेत्रका दुई दर्जन प्रहरी अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्ला समयमा सशस्त्र हतियारधारी समूहका तर्फबाट भारतीय प्रहरीमाथि आक्रमण बढेको भन्दै उनीहरुले प्रहरी सेवा छोड्न इच्छुक रहेको बताएका हुन् ।

उक्त क्षेत्रमा पछिल्लो समयमा अज्ञात समूहले आक्रमण बढाएका छन् । पछिल्ला केही दिनयता प्रहरीमाथि ती समूहले गरेका आक्रमणबाट तीनजना वरिष्ठ प्रहरी अधिकारी मारिएका छन् । 

प्रहरीमाथिको सो हमलापछि पछिल्लो समयमा प्रहरीमा असुरक्षाको त्रास बढेको र जसका कारण प्रहरी अधिकारीहरु नै प्रहरी सेवामा रहेर काम गर्न नसक्ने बताउन थालेका छन् । 

तर भारतको गृह मन्त्रालयले भने सो समाचारको खण्डन गरेको छ । उक्त मन्त्रालयले प्रहरी अधिकृतहरुबाट त्यस्तो राजिनामा नआएको जनाएको छ । 

भारतीय प्रहरीका अधिकारीहरुले आफूहरुले असुरक्षाका कारण काश्मिरमा काम गर्न नसकेको भन्दै यस जागिरबाट आफूहरुलाई मुक्ति चाहिएको भिडियो सार्वजनिक गरेका छन् । 

उक्त भिडियोले सामाजिक सञ्जालमा व्यापकता पाएपछि मन्त्रालयको तर्फबाट यो प्रतिक्रिया आएको हो । 

भारतको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी यस समाचारको खण्डन गरेको जनाइएको छ ।

उक्त मन्त्रालयले ती प्रहरी अधिकारीले प्रहरी सेवामा रहेर काम गर्न इच्छुक नरहेको भनी दिएको भनिएको राजिनामालाई एउटा गलत समाचार भनेको छ ।

यो समाचार काश्मिरमा रहेर काम गरिरहेका सुरक्षा निकायका विरुद्धमा आएको एउटा ‘प्रोपागाण्डा’ भनी भारतीय गृह मन्त्रालयले शनिबार जनाएको छ । 

तर पनि शनिबारका भारतीय अखबारहरुमा भने यो समाचार निकै प्राथमिकताका साथ आएको जनाइएको छ । (रासस÷सिन्ह्वा)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...