आयोजनाहरू समयमै सम्पन्न गर्न ठेकेदारहरूलाई अर्थमन्त्रीको निर्देशन

news

केशव भण्डारी (इमेज)

बुटवल, असोज ८ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकासका ठूला आयोजनाहरू समयमै सम्पन्न गर्न ठेकेदारहरूलाई निर्देशन दिएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ६५औं वार्षिक साधारणसभाको सोमबार बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ठूला आयोजनाहरू समयमै सम्पन्न नहुँदा विकासले गति लिन नसकेको टिप्पणी गरे ।

आयोजनका काम लम्बाउने छुट कसैलाई नभएको उनले बताए ।

‘ठूलो आयोजनाहरू अस्तव्यस्त छन् । म पाँच वर्षअगाडि आउँदा पनि बुटवल–बेलहिया सडकमा धुलो उडेको थियो । अहिले आउँदा पनि उस्तै छ’–उनले भने–‘यस्ता आयोजनहरू समयमै सकाउन सबैको ध्यान जान आवश्यक छ । विकासका आयोजनाको निगरानी निजी क्षेत्रले पनि गर्नुपर्छ ।’

ठेकेदारले आयोजनाका काम झुलाउँदा त्यसको प्रत्यक्ष असर सरकारलाई परेको भन्दै उनले जग्गाको प्रकृति छुट्याएर जग्गामा कर निर्धारण गर्ने पनि बताए ।

कर बढेको गुनासो आएपछि त्यसलाई निर्धारण गर्नका लागि संसदमा विधयेक लैजाने तयारी गरेको उनले जानकारी दिए ।

कर निर्धारणबारेको विधयेक पास भएपछि करको समस्या पनि समाधान हुने उनको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताए ।

संघ, प्रदेश र स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...