भन्सार नाकामा अध्यागमन सेवा संचालन गर्न दुई देशबीच सहमति आवश्यक : अर्थमन्त्री

news

बासुदेव बर्मा

कपिलवस्तु, असोज ९ । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई देशबीचको आपसी सहमतिबाट मात्र भन्सार नाकामा अध्यागमन संचालन गर्न सकिने बताएका छन् । नेपाल सरकारले चाहेरमात्र अध्यागमन विभाग सञ्चालन गर्न नसकिने बताउँदै उनले दुईदेशीय सहमतीमा मात्र संचालन हुन सक्ने प्रष्ट पारे ।

कपिलवस्तुको छोटी भन्सारको रुपमा रहेको सुठौली भन्सार स्तरोन्नोतिपछि आयोजित उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले राजमार्गदेखि पहाडी भूभाग र सिमा नाका जोड्ने गरी सडक सञ्जाल विस्तार गर्ने योजना शुरु भइसकेको बताए । कपिलवस्तु गरिबीको सूचाकंमा कमजोर रहेकाले सरकारले विशेष प्राथमिकता दिएको उनले बताए ।

मन्त्री खतिवडाले हुलाकी सडक निर्माण सम्पन्न गर्न आर्थिक समस्या नपर्ने बताए । गतवर्षको योजना र कार्यक्रममा बुद्धिष्ट सर्किट नवलपरासी, रुपन्देही र कपिलवस्तु जोड्ने गरी रामग्राम देवदह लुम्बिनी र तिलौराकोटको अवधारणामा सरकारले काम गरिसकेको उनले बताए । उनले लुम्बिनी र तिलौराकोट विकासलाई सँगसँगै लैजाने सरकारले निती अनुरुप प्राथमिकता दिएको बताए ।

देशभरका १ सय ४३ छोटी भन्सारमध्ये ५ वटा मुल भन्सार कार्यालयको रुपमा सरकारले स्तरोन्नति गरेको जनाइएको छ । ५ मध्ये ३ वटा भन्सार कार्यालयको उद्घाटन भइसकेको भन्दै आवश्यक पूर्वाधार विकासमा जोड दिने भन्सार विभागका महानिर्देशक तोयम रायले बताए ।

गतवर्ष सुठौली छोटी भन्सार कार्यालयबाट २५ करोड ५३ लाख राजश्व संकलन गरिएको बताइएको छ ।

सुठौली छोटी भन्सारबाट चामल, गहुँ, मकै, जुनेलो, फलफुल तरकारी लगायतका बस्तुहरुबाट राजश्व संकलन हुदै आएको थियो भने आगामी दिनमा कपडा लगायतका कच्चा पदार्थ आयात हुने लक्ष्य लिइएको छ ।

सुठौली छोटी भन्सार अन्तर्गत ४ वटा नाकाहरु रंगपुर, गौरा, चाकलचौडा र सुठौली रहेका थिए । सुठौली भन्सार कार्यालयले आर्थिक वर्ष ०७५÷०७६ अन्तर्गत हालसम्म ९८ लाख राजश्व संकलन गरिसकेको जनाएको छ । सरकारले देशभरका छोटी भन्सार काकडभिट्टा, ठाटी, सुठौली, महेशपुर र सती नाकालाई स्तरोन्नति गरेर ठुलो भन्सार कार्यालयको रुपमा स्थापना गरेको हो ।

सोही अवसरमा सांसद बृजेश कुमार गुप्ताले सुठौली भन्सार कार्यालय संचालनसँगै अध्यागमन संचालन गरे बुद्ध जन्मस्थलको प्रचार प्रसारसँगै पर्यटक भित्रिने बताए । सुठौली भन्सार मुल भन्सार भएसँगै यस नाकासँग जोडिएका हुलाकी सडकहरुको स्तरोन्नति गर्नुपर्ने स्थानीयले माग गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...