प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग र महावाणिज्य दूतावासको निरीक्षण

news

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गरे ।

प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिएका थिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नियोगका कर्मचारीलाई मुलुकको छवि अन्तर्राष्ट्रिय जगतमा उजिल्याउने गरी काम गर्न आग्रह गरे ।

उनले नेपालको आफ्नै शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन पनि आग्रह गरे ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

प्रधानमन्त्री ओलीका साथमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु रहेका थिए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको पनि निरीक्षण गरे ।

उनलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी दिए ।

उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्मचारीले राखेका समस्या तथा कठिनाइ समाधान गर्न पहल हुने जानकारी दिए ।

दूतावासले  प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...