एन्टिबायोटिक औषधिले काम नै नगर्ने अवस्था आउने खतरा (भिडियो)

news

-प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर(ईमेज)

काठमाडौं । जथाभावी एन्टिबायोटिक औषधि प्रयोग गर्दा स्वास्थ्यमा थप समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

सन्चो भयो भन्दै मात्रा नै नपुर्‍याइ एन्टिबायोटिक औषधि प्रयोग गर्न छाड्दासमेत अर्को समस्या देखिन थालेको चिकित्सकहरु बताउँछन् ।

यदि तपाई चिकित्सकको सल्लाह बिनै एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुन्छ र सन्चो भयो भन्दै औषधिको मात्रा नै पूरा नगरी बीचैमा प्रयोग गर्न छाड्ने गर्नुहुन्छ भने विचार पु¥याउनुहोस्, यसले तपाईको शरीरलाई नकारात्मक असर पुर्‍याइरहेको हुन्छ ।

मात्रा नमिलाई एन्टिबायोटिक औषधि प्रयोग गर्दा ब्याक्टेरियाले आफ्नो स्वरुप परिवर्तन गर्ने र बलियो हुने हुँदा औषधिले काम नगरेर स्वास्थ्यमा थप असर पार्ने चिकित्सकहरु बताउँछन् ।

शरीरमा कुनै ब्याक्टेरिया वा भाइरसका कारण कुनै समस्या भयो भने त्यसलाई नियन्त्रण गर्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ ।

रुघाखोकी, ज्वरो, निमोनिया, झाडापखाला लगायतका भाइरसका कारण हुने रोगको संक्रमण फैलन नदिन प्रयोग गरिने एन्टिबायोटिक औषधि चिकित्सकको सल्लाह विनै खाँदा परेको समस्या लिएर अस्पतालमा आउनेहरुको संख्या बढेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार, सही मात्रामा र आवश्यकता बमोजिम तोकिएको समय अवधिसम्म खाने हो भने एन्टिबायोटिकले नकारात्मक असर गर्दैन ।

क्यान्सर, मधुमेह, मुटु रोग लगायतका दीर्घरोगीले भने जथाभावी एन्टिबायोटिक प्रयोग गरे बढी जोखिममा पर्ने गर्दछन् ।

हाल विश्वमा एन्टिबायोटिक औषधिले काम नगर्दा प्रत्येक ४५ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।

सन् २०५० सम्ममा कुनै पनि एन्टिबायोटिक औषधिले मानिसको शरीरमा काम नै गर्न छाड्ने अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

औषधि पसलहरुले जथाभावी एन्टिबायोटिक औषधि बेचविखन गर्ने गरेका कारण यो समस्याले विकराल रुप लिँदै गएको हो ।

यो समस्या विश्वभरी नै देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले समेत यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सचेत हुन आग्रह गरेको छ ।

एन्टिबायोटिक औषधिको सही प्रयोगबारे नेपाल सरकारले समेत राष्ट्रिय नीति बनाउने तयारी गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया