के गर्दैछ एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन टोली ?

news

दीपक श्रेष्ठ (इमेज)

काठमाडौं, असोज १८ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घट्ना सुल्झँदै जानुपर्नेमा झन् रहस्यमय बन्दै गएको छ ।

निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीनजनाको डीएनए रिपोर्ट आएपछि अब सबैको ध्यान पछिल्लो समय गठन भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धीरु बस्नेत नेतृत्वको उच्चस्तरीय समितितर्फ सोझिएको छ ।

घटनालगत्तै स्थानीय प्रहरीले छानबिनमा उदासीनता देखाएको र प्रमाण नस्ट गरेर गल्ती गरेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री एवं प्रहरी महानिरीक्षकलेसमेत सार्वजनिकरुपमा स्वीकार गरिसकेका छन् ।

यो कुरालाई गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित छानबिन समितिलेसमेत पुष्टि गरिसकेको छ ।

धेरैओटा छानबिन समिति गठन भएपनि अपराधी पत्ता लाग्न नसकेपछि अहिले सबैको ध्यान एआइजी धीरु बस्नेत नेतृत्वको समितितर्फ सोझिएको हो ।

प्रहरी प्रधान कार्यालयले बनाएको छानबिन टोलीलाई भदौ ३१ गते विस्तार गर्दै थप अधिकार र जनशक्तिसहित बस्नेतको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनेको थियो ।

तर, यो समितिसमेत गठन भएको झन्डै २० दिन पुग्नलाग्दासमेत कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन ।

यो समितले छानबिन कहाँ पुर्‍यायो ? भन्ने आधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।

टोलीले भदौ २८ गते निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, उनका छोरा किरणराज बिष्ट र भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुष बिष्टको डीएनए परीक्षणका लागि नमुना संकलन गरेको थियो ।

यसैगरी, असोज २ गते प्रहरी उपरीक्षक दुर्गा सिंहलाई अनुसन्धान निरीक्षणका लागि भन्दै कन्चनपुर पठाइयो ।

निलम्बनमा परेका सबै प्रहरीहरुको पोलिग्राफ परीक्षण असोज ११ गतेदेखि सुरु गरिएको छ । पोलिग्राफ परीक्षणको रिपोर्ट सार्वजनिक भएको छैन ।

तर, असोज १४ गते निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्टसहित उनका छोरा किरण र मेयरका भतिज आयुषको डीएनए परीक्षणको रिपोर्ट हत्या गरिएकी निर्मला पन्तको ‘भेजाइनल स्वाब’मा भएको डीएनएसँग मेल नखाएको रिपोर्ट सार्वजनिक भयो ।

धीरु बस्नेत नेतृत्वको समिति गठन भएपछि सार्वजनिक भएको तथ्य यति नै हो ।

घटना छानबिन र दोषी पत्ता लगाउने विषयमा समय लागिरहँदा कन्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ । देशका अरु भागमा पनि धर्ना र प्रदर्शन जारी छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...