नक्कली आरोहण अनुमतिपत्र बनाउने तीनजना पक्राउ

news

काठमाडौं, असोज १८ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानुन विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् ।

तीनैजनाले वि.सं. २०७४ चैत ३० गते सोही प्रालिमार्फत् सगरमाथा आरोहण गर्न तयार भएका १२ जना विदेशी नागरिकको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर त्यसलाई लुकाइ सोही मिति र परमिट नम्बर राखी सक्कली अनुमतिपत्रमा भएको १२ जनाको नाममा एक चिनियाँ नागरिक र एक अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमतिपत्र तयार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

सोही कीर्तेपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुमा पेस भएकामा पर्यटन विभागबाट पनि सो आरोहण दलको सम्पर्क अधिकृतकारुपमा खटिएका कर्मचारीले पर्यटन विभागबाट बुझिलिएको सक्कली आरोहणपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समितिमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नम्बरको पत्रमा आरोही संख्या फरक भएपछि सोबारे अनुसन्धान सुरु भएको थियो ।

सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहणपत्रानुसार चिनियाँ नागरिक ८ जना, भारतीय दुई, स्पेनिस एक र बेलायती एकजना रहेकामा नक्कली आरोहणपत्रमा थप भएका दुईमध्ये एकजना चिनियाँ र एक अष्ट्रेलियाली नागरिक रहेको भेटिएको ब्यूरोले जनाएको छ ।

प्रहरीकाअनुसार ती दुई विदेशी नागरिकको परमिट शुल्कबापत २२ हजार अमेरिकी डलर तीनैजनाले बाँडेर लिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले कार्कीलाई ठमेल, अर्याललाई महाराजगन्ज र शेर्पालाई सोलुखुम्बुबाट पक्राउ गरेको हो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...