पार्टी एकता चाँडै हुन्छ : थापा

news

काठमाडौं, असोज २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशका विभिन्न पार्टीसँग चाँडै नै एकता हुने बताएका छन् ।

विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा शनिबार केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने–‘राप्रपा परिवेशका विभिन्न पार्टीसँग यसबारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको छ ।’

अध्यक्ष थापाले नेपालीपन र पहिचान झल्काउने यी पर्वको विशिष्ट महत्व रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको संरक्षण र सम्वर्धनमा पार्टी निरन्तर क्रियाशील रहेको बताए ।

नेपाली संस्कृतिमा सदियौंदेखि स्थापित घटस्थापनाका दिनलाई सरकारले सार्वजनिक बिदा कटौती गर्न नहुने बताउँदै उनले ‘मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायको विभिन्न चाडपर्वले सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्नमा ठूलो सहयोग पुर्‍याइरहेको छ’–भने ।

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, वरिष्ठ नेता बालाराम घर्तीमगर र प्रदेश नम्बर–३ का अध्यक्ष विक्रमबहादुर थापालगायतले प्राचीन परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्ने नवप्रवेशीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी स्वागत गरे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया