नेपालीमात्रको राष्ट्रिय पर्व दसैं

news

-हरिविनोद अधिकारी

नेपालको दसैँमा महाभारतकालीन सँस्कृतिको झझल्को देखिन्छ । टीकाका दिन मान्यजनले लगाइदिने टीकाको आशीर्वादमा मुख्यतःयस्तो भनिन्छ-

आयुद्र्रोणसुते श्रेयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानेविदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् आयु अश्वत्थामा वा द्रोणपुत्रको जस्तो होस् । चिरञ्जीवी हुनू । रामचन्द्रको जस्तो शत्रु दमन गर्नसक्ने क्षमता होस् । नहुष राजाको जस्तो ऐश्वर्य अर्थात् स्वर्गको इन्द्रको पदवी पाएका नहुषको जस्तो सम्पत्ति श्री बढोस् । वायुको जस्तो अनवरत , कहिल्यै नरोकिने गति होस् । दुर्योधनको जस्तो मान होस् जसलाई गुरु, पितामहसम्मले राजाको रुपमा मान दिएका थिए । दानशीलता कर्णको जस्तो होस् जसले मागेको दिनका लागि आफ्नो छालासमेत काडेर आफ्नो कबच दान दिएका थिए । कर्णजस्तै दानवीर हुनू । बलमा बलराम जस्तो हुनू । सत्यको सम्मान गर्नका लागि युधिष्ठिर जस्तो सत्यवादी हुनू । विदुरजस्तै ज्ञानी , विवेकी र नारायण कृष्णको जस्तो कीर्ति फैलियोस् ।

यो आशीर्वचन कसले लेख्यो, कसले भन्न सुरु गरेको हो, सायद कसैलाई पनि थाहा छैन तर यो आशीर्वचनले के देखाउँछ भने महाभारतकालको प्रभावले दसैँ आच्छादित छ । सायद नेपाल र भारतको दसैँ मान्ने परम्पराका बिचमा पाइने अन्तरमा कुनै साँस्कृतिक कारण होला जसको अझै अनुसन्धान गरिएको छैन । नेपाली आँगनमा दसैँको चहलपहल सुरु भएको छ । संसारमा जहाँ जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ दसैँको तयारी छँदैछ । दसैँ पहिले धार्मिक पर्वको रुपमा थियो भने अहिले विशुद्ध साँस्कृतिक चाडको रुपमा मनाउन थालिएको छ । पहिले यो चाड विशुद्ध हिन्दुको मात्र पूजाआजाको पर्व थियो भने अब यो खासगरी बहुधार्मिक नेपाली मात्रको साँस्कृतिक पर्वको रुपमा मनाउन थालिएको छ ।

दसैँ भन्ने बित्तिकै हिजोका ती दिनहरु झल्झली सम्झनामा आउँछन् जुनबेला नेपालमा गाउँको वर्चस्व थियो र गाउँको सँस्कृतिले नै नेपालको पहिचान दिएको थियो । सहरले नेपालको सँस्कृतिलाई मठ, मन्दिर र देवताको वासस्थानका रुपमा मूर्तरुपले बचाएको छ तर गाउँले त्यो मूर्तरुपलाई प्रयोगमा ल्याएको छ, ती मन्दिरमा रहेका भगवान, भगवतीको दर्शनका लागि धाएर आउँछन् र तिनको आशीर्वादलाई दैनिकी बनाउँछन् ।दसैँमा मौलोको प्रयोग र तलेजुको दर्शन हाम्रो साँस्कृतिक दर्शनको एउटा अविस्मरणीय पक्ष हो ।

दसैँले गाउँका घरहरुलाई विभिन्न रङका माटोले घर पोत्ने विम्वले र झ्याल ढोकामा काली लगाएर काठको जीवन बढाउने काम हुन्थ्यो । नयाँ लुगा, मीठो खानका लागि चिउरा कुट्ने, चामल कुट्ने, केरा पकाउने, घर वरिपरि सफा राख्ने चलन गाउँ गाउँमा यथावत छ र पनि अब घरका स्वरुपहरु बदलिएका छन् अनि संयुक्त परिवारबाट एकल परिवारले स्थान लिएको छ । दसैँ भनेको आमाको माया अनि बाको छायामा हुर्किने बेला थियो । नयाँ लुगाको पहिरनका लागि एकमात्र साइत हेर्नु नपर्ने समय थियो । कम्तीमा पनि खसी मार हान्नुभन्दा पहिले नयाँ लुगा अनिवार्य जस्तै हुन्थ्यो गाउँगाउँमा । यसै पनि आमाको माया जहिले पनि छताछुल्ल हुन्थ्यो , झन दसैँमा खानपिन र आशीर्वादको जो मौसम हुन्थ्यो, त्यसले वर्षभरका लागि नयाँ उर्जा थप्थ्यो । अहिले दसैँ यन्त्रवत् भएको छ र मनाउने कामको औपचारिकता पूरा गरिने चलन छ । कतिपय मानिसहरुका लागि आमा बा विनाको दसैँ के दसैँ, भन्ने पनि हुँदोरहेछ । तर पनि यो राष्ट्रियरुपमा मनाउने चाड भएकाले सबैका लागि जरुरी सँस्था बनेको छ । 

वास्तवमा यो बेला भनेको प्रकृति पूजनको बेला हो । आखिर जीवन त प्रकृतिको देन हो र प्रकृतिले नै बचाउने हो । दिनरात बराबरी हुने, आश्विन शुक्ल पक्षमा जाडोको सुरुवात र चैत्रमा गर्मीको सुरुवात हुने बेलाको देवी पूजनको समय मानिएको छ । त्यो मध्ये मुख्य समय आश्विन शुक्ल पक्षलाई नै नेपालीहरुले बडा दसैँको रुपमा मनाउँदै आएका छन् र यसो अनुमान गर्दा यो चाड अझै हजारौँ वर्षसम्म अनवरत चलिरहने सम्भावना देखिन्छ ।

देवी भनेकी प्रकृति हुन् र मार्कण्डेय पुराणअन्तर्गतको सप्तशती चण्डी महिमा पढ्दा विशुद्ध प्रकृति पूजनको महत्व देखिन्छ । त्यहाँ वर्णित असुरहरुलाई मानिसको प्रकृतिमा देखिने अहङ्कारसँगको तादात्म्यता पाइन्छ भने विवेकरुपी शक्तिको रुपमा देवीलाई वर्णन गरिएको छ र विवेकले मात्र ती अहङ्कार, दम्भ र आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकिन्छ । तिनै विवेकको सृजना गर्ने ज्ञान नै देवी हुन् र असुरको नाश गर्नको लागि उनको उत्पत्ति भएको भनेको विवेकको उत्पत्ति या प्रयोग नै हो । देवीलाई भोकको रुपमा, भ्रान्तिको रुपमा, शान्तिको रुपमा, या जीवनका लागि चाहिने सबै कुराको विम्बका रुपमा लिइन्छ । अमूर्तबाट मूर्तता तर्फ नै दसैँको महत्व देखिन्छ । पूजाआजा, आशीर्वाद हुँदै खानपिन र भेटघाटसँग यसको धागो जोडिन्छ ।

दसैँको आधार आश्विन शुक्ल दशमीको दिन नै हो र नौ दिनको पूजाआजा पश्चात्को दसौँ दिनको महत्वलाई यसले सँगालेको छ । दशमी नै अपभ्रंश भएर दशैँ वा दसैँ भएको हुुनुपर्छ । त्रेतायुगमा श्रीरामले रावणजस्तो वीरलाई पराजित गर्नका लागि देवीको अतिरिक्त शक्तिको आह्वान गर्दै नौ दिनसम्म देवीलाई विभिन्न स्वरुपमा पूजाआजा गरेको प्रसङ्ग एकातिर आउँछ भने अर्कोतिर देवीको आह्वानका लागि चैत्र र आश्विन दुई पटक गरी नवाह लगाउने चलन पनि छ । नेपालमा अहिले पनि चैते दसैँ र मुख्य दसैँ अर्थात् आश्विन शुक्ल पक्षलाई दसैँको रुपमा मनाउने चलन छ । युधिष्ठिरले पनि देवीको आह्वान गरेको प्रसङ्ग पढ्न पाइन्छ अतिरिक्त शक्तिका लागि महाभारताको युद्धभन्दा पहिले नै ।

दसैँ नेपालीहरुका लागि धार्मिक पर्वभन्दा परिवारका बिचको आपसी भेटघाट र सम्बन्ध वृद्धि गर्ने  सामाजिक मनोविज्ञानको सकारात्मक स्वरुपमा बुझ्न सकिन्छ । जसरी नेपाली समाज संक्रमितरुपमा अघि बढिरहेको छ र विश्वव्यापीकरणले नेपाली समाजलाई विभिन्न स्वरुपमा विश्वभर छरिनसक्ने बनायो, त्यसैगरी अहिले दसैँ पनि विश्वभर नेपालीहरुलाई एकतामा जोड्ने पर्वको रुपमा देखिएको छ र यसका स्वरुप पनि स्थानअनुसार फरक फरक पनि हुन सक्ने सम्भावना बढेर गएको छ । विश्वभर नेपालीको महान चाड भनेर दसैँ र तिहारलाई सवै धर्म र सँस्कृतिका मित्रहरुले स्वीकार गरिसकेको अवस्था पनि अहिले विद्यमान छ । अमेरिकी राष्ट्रपतिहरु जिम्मी कार्टर , बिल क्लिन्टन र बाराक ओबामाहरुले अमेरिकामा बसेका नेपालीहरुलाई मौलिक चाडका रुपमा शुभकामना समेत दिएको सुनिएको थियो उनीहरुको कार्यकालमा ।

पुरानो समयमा पनि दसैँले परिवारहरुलाई सङ्गठित र पुनर्सङ्गठित गर्दथ्यो र आध्यात्मिक चिन्तनमा लिप्त गराउँथ्यो । नौ दिनसम्म जमरा राखेको ठाउँमा विभिन्न स्वरुपमा देवीको आह्वानमा पूजा गर्दै जस्तोसुकै समस्यासँग जुधेर विजयी हुनका लागि त्यसले मनोवैज्ञानिक उर्जा प्रदान गथ्र्यो र विजया दशमीको रुपमा स्वीकृत थियो । तर पनि दसैँ खानपिन र राम्रो लगाउने चाडको रुपमा नै स्वीकृत थियो । त्यतिहुँदा पनि नेपालमा मनाइने दसैँ या नवरात्रिको सामाजिक मान्यता र नेपालबाहेक अन्य देशमा मनाइने दसैँको महत्ता र प्रक्रियामा मौलिकरुपमा नै अन्तर पाइन्थ्यो । सायद त्यसैले पनि होला, विश्वभरका हिन्दूहरुमध्ये नेपालका हिन्दूहरुको, खासगरी पहाडका हिन्दूहरुको मौलिक पर्वको रुपमा दसैँ प्रचलित हुनपुग्यो । जमरा लाउने हैन, खाने हो भन्ने स्वास्थ्य शिक्षाको प्रचार सुरु हुन थालेको अहिलेको बेलाभन्दा कैयौँ सय वर्ष पहिलेदेखि नै जमरा लगाएर स्वस्थ हुने परम्परा नेपालमा विद्यमान जो थियो । जमराका वारेमा भनिन्छ-यो लगाउने कि खाने हो ? लगाउने चलन त छँदैछ, जमरालाई खाने चलन पनि आयुर्वेदले कल्पना गरेको छ औषधिको रुपमा ।

प्रत्येक परिवारले आफ्नो घरमा जमरा राखेर देवीको पूजा गर्नु र प्रत्येक परिवारले देवीको प्रसादका रुपमा विजया दशमीका दिन पूmलको सट्टा जमरा लगाउनु  नेपाली विशेषता हो । महिषासुरको वधका कारणले केही समुदायले महिष वध गरेर खाने र अरुले खसी, बोका, हाँसको वध गरेर प्रसादको रुपमा मासु खाने चलन पनि विशेषताको रुपमा नेपालमा मात्र पाइन्छ । मासु खाने काम ठीक हो कि होइन भन्ने विवाद पहिले देखि नै छ र पनि आमरुपमा दसैँ भनेको मासु खाने चाडको रुपमा नै लिइन्छ । सायद नेपाल नै यस्तो साँस्कृतिक चाडमा सरकारले दिने लामो विदा पाइने देश हुन पनि सक्छ । जसले दसैँ मनाउँछ, त्यसले त मनाउने नै भयो, जुन समुदायले दसैँ मनाउँदैनन् ,तिनले पनि यसलाई नेपालमा राष्ट्रिय चाडको रुपमा मिठो मिठो खाएर र पर्व मनाउनेलाई शुभकामना दिएर त्यसको महत्वलाई स्थान दिन्छन्  ।

नेपालमा दसैँ र तिहार मनाउने चलनमा मौलिकता छ र यसको अनुसन्धान कमै भएको पाइन्छ । देवी पूजाबाहेक यसका विशेषताहरुमा पर्छ पिंङ खेल्ने, मासु खाने, टीका लगाउने र टीका लगाउन आफ्ना नातेदारहरुका घरमा जाने । छोरीहरु(बुहारी, बहिनी,दिदी आदि) माइत आउने, छोरा पक्ष ससुराल जाने र भान्जाभान्जीहरु मावलमा टीका लगाउन आउने । टीकाको लगाई पनि नेपालमा ठाउँअनुसार फरक फरक चलन देखिन्छ । काठमाडौँ वरिपरि र पूर्वतिर कोजाग्रत पूर्णिमाका दिन जमरा सेलाउन नलगुन्जेलसम्म दसैँको शुभ साइत मानेर टीका लगाउने चलन छ भने गण्डकी अञ्चलदेखि पश्चिम र मध्यपश्चिमको माथिल्लो भेगसम्म दसैँको टीका अर्थात् दशमीका दिनमात्र टीका लगाउने चलन अझै पनि छ । अनि नेपालीहरु जहाँ जहाँ सन्सारमा गएका छन्, त्यही आफ्नो मौलिक रैथाने चलनलाई मान्दै आएका देखिन्छन् ।

प्रकृति देवीको आराधना, समशीतोष्ण मौसम, खेतीको लगाउने काम समाप्त भएको, हिलोसँग खेलेर भर्खर बसेको बेला, मिठो मिठो खाने अझ मासुका परिकारहरु पनि खाने अनि सपरिवार भेटघाटका लागि देवीको प्रसाद टीकाको बहानामा मान्यवरले आशीर्वचन पनि दिने कति रमाइलो समयको परिकल्पना गरिएको रहेछ । धार्मिकभन्दा सामाजिक सम्बन्धलाई बढी जोड दिइएको नेपाली मात्रको विशेष चाड दसैँलाई कम खर्चमा मनाउने चलन गर्नु जरुरी छ । अहिले अहिँसावादी तथा पशु अधिकारवादीहरुले हिँसाविहीन दसैँका लागि पनि अभियान चलाउन थालेको प्रसङ्गमा र माता भवानीका लागि यो संसारका सबै जीव सन्तान भएकाले माताको खुसीका लागि कुनै जीवनको हत्या गरिनु हुँदैन र माता खुसी हुने कुरा पनि होइन भन्ने कडा तर्क पनि आएको छ जसलाई गलत भन्न पनि सकिँदैन, सँगै चलेको चलनलाई नमान्नु पनि भन्न नसकिने दोधारमा नेपाली समाज परेको बेला छ अहिले ।

नेपाली मात्रको विशिष्ट पहिचान देखिने मौलिक चाड दसैँलाई आपसी भाइचाराको सम्बन्ध वृद्धि गर्न र सदियौँदेखिको नाता परिवारलाई एकजुट बनाउन, कुनै रीसइवीविनाको समाज निर्माणको मनोविज्ञान लिएको यो चाडलाई अझ परिमार्जित गरी सबै धर्म र सँस्कृतिको साझा चाडको रुपमा मनाउने काम गर्नु जरुरी छ ।

अहिले नेपालीहरु विश्वभर छरिएका छन् । नेपाल बाहिर गएको छोरो ,छोरी या भाइ या बहिनी, नाति नातिनी घर फर्कने यो एउटा सुअवसर बनेको छ जस्तो कि पहिले बाटाघाटाको कुनै सुविधा नहुँदा परदेश गएका घरका सदस्यहरु जमघट हुनका लागि कुर्ने समय यही थियो । चेलीबेटी, ज्वाईँ भान्जाभान्जीलाई स्वागत गर्ने समय यही थियो । अहिले पनि परिवारको मात्र नभएर नेपाली नेपालीका बिचमा सम्बन्ध ताजा र पुनर्ताजगी गराउने पर्वको रुपमा नेपाल बाहिर पनि यसलाई मनाउन थालिएको छ र नयाँ बेलामा चियापान गरेर दसैँको शुभकामना आदान प्रदान गर्ने चलन जो व्यापकरुपमा चलेको छ समाजीकरणको सहज र सरल उपायका रुपमा । तर नेपालका राजनीतिक दलहरुले भने दसैँको शुभकामना दसैँ समाप्त भएपछि आदान प्रदान गर्छन् । यसलाई भेटघाट सँस्कृति मान्ने कि सँस्कृतिको आधारभूत पक्षलाई नकारात्मक स्वरुप दिनका लागि विकृत बनाउन थालेको मान्ने ? जे होस् , दसैँलाई भेटघाट र शुभकामना आदान प्रदान गर्ने  चलनको निरन्तरता नै मानौँ ।

यो मौलिक चाडमा सम्पूर्ण मानव जातिको कल्याण होस, शान्तिपूर्ण जीवन यापन गर्नका लागि माता भवानीले सबैलाई वरदान दिनुहोस् र सम्पूर्ण नेपालीको हितका लागि माताले विशेष आशीष दिनुहोस् भन्ने कामना गरौँ ।

या देवी सर्वभूतेषु शान्तिरुपेण सँस्थिता । नमस्तस्यैः नमस्तस्यैः नमस्तस्यैः नमोनमः।।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया