नवरात्रमा विशेष पूजा गरिने छिन्नमस्ता मन्दिरको यस्तो छ ऐतिहासिक पक्ष (भिडियो)

news

शिवहरी भट्टराई

सप्तरी, असोज २५ । नवरात्र सुरु भएसँगै सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । धार्मिक र ऐतिहासिक महत्वको यो मन्दिरमा दर्शन र पूजाअर्चना गरेमा सबै मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

प्राचीन किंवदन्तीअनुसार ११ औँ शताब्दीमा सिम्रौनगढका राजा शक्रसिंहदेवले गद्दी त्याग गरी सप्तरीमा गई बस्दा जंगल सफा गर्ने क्रममा भगवतीको मूर्ति भेट्टाएको र त्यसलाई कुलदेवीको रुपमा शक्रेश्वरी स्थापना गरेको पाइन्छ । शक्रेश्वरी देवीको शिर नभएकोले पछि छिन्नमस्ता भगवती भन्न थालिएको इतिहास भेटिन्छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सखडेश्वरी छिन्नमस्ता शक्तिपीठमा घटस्थापनादेखि टीकाको दिनसम्म भव्य मेला लाग्ने गर्दछ । जहाँ सप्तरी, सिरहा, सुनसरी, धनुषा, मोरङ, उदयपुर लगायत नेपाल तथा भारतको बिहार राज्यबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

शक्तिपीठमा वैदिक, ज्योतिष तथा तान्त्रिक पद्धतिबाट पूजाआजा हुने मन्दिरका पीठाधीश महाकान्त ठाकुर बताउँछन् ।

छिन्नमस्ता मन्दिरलाई मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्येको एक मानिएकोले नेपाल र भारतका भक्तजनहरूको बोका, भेंडा, परेवा, हाँस र माछासहित दिनहुँ घुइँचो लाग्ने गर्छ । अन्य समयमा यहाँ दैनिक ५० भन्दा बढी बली चढाइन्छ भने दशैँको बेलामा त हजारौँ बोका, भेडा, परेवा, हाँस र माछाको बली चढाइन्छ । साथै  मनोकामना पुरा भएकाहरुले त अझ पञ्चबलि समेत गर्छन् ।

यसरी यस मन्दिरमा सरदरमा वर्षेनी ३० हजारभन्दा बढी बली चढाइन्छ । अर्कोतिर दशैँको पावनताका अवसरमा यस्ता निर्दोष, निरीह र निरुपाय पशुपक्षीको क्रुर बध गर्नु सभ्य र सुसंस्कृत समाजको परिचायक नभएको भन्दै कतिपयले आलोचनासमेत गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया