नेकपामा हलचल, रामवीरको राजीनामा घोषणा ओलीलाई थाहै दिइएन

news

सरोज अधिकारी (इमेज)

काठमाडौं, असोज २५ । अघिल्लो वर्ष सम्पन्न संसदीय निर्वाचनमा बर्दियाबाट पराजित वामदेव गौतमलाई निर्वाचन क्षेत्र खाली गराएर उम्मेदवार बनाउने तयारीप्रति नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवाद झन् तीव्र हुँदै गएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि आफूले राजीनामा दिने घोषणा गरेपछि यो विषयले नेकपाभित्र निकै महत्व पाएको छ ।

मानन्धर निर्वाचित क्षेत्रका मतदाताले नै उनको राजीनामाप्रति असन्तुष्टि जनाइरहेका बेला पार्टीको शीर्ष तहमासमेत यसले हलचल ल्याइदिएको हो ।

प्रधानमन्त्री ओलीसँग निकट रहेका भनिएका मानन्धर प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई नै थाहा नदिइ अर्का अध्यक्ष पुष्पकमल दाहालमार्फत् राजीनामा घोषणा गर्न गएको स्रोतको भनाइ छ ।

शीर्ष तहमा स्पस्ट छलफल नभइ राजीनामाको घोषणा भएपछि नेकपाभित्र यो विषयलाई दूरगामी अर्थ राख्ने राजनीतिक योजना त होइन ? भन्ने ढंगबाट पनि विश्लेषण गरिएको छ ।

अध्यक्ष दाहालले यो विषयमा खुलेर वकालत गरेका छन् । तर, अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली यो घटनामा मौन देखिएका छन् । उनी निकटकाहरुले भने कूटनीतिक ढंगबाट यसको विरोध गरिरहेका छन् ।

माधव नेपाल पक्ष पनि यस्तो तरिका अपनाएर वामदेव गौतमलाई संसदमा ल्याउनैपर्ने आवश्यकता र औचित्यको पुष्टि खोजिरहेको छ ।

नेकपा नेता सुरेन्द्र पाण्डे डोल्पाबाट निर्वाचन लड्ने कुरा अस्वीकृत भएपछि फेरि यो कुरा आउनु राम्रो नभएको बताउँछन् ।

आवश्यकता र औचित्य पुष्टि गरेर स्थायी समिति बैठकबाट नै यसबारे निर्णय हुनुपर्ने मत छ, पाण्डेको ।

नेता गौतमलाई काठमाडौं–७ मा उपनिर्वाचन गराएर उम्मेदवार बनाउने विषयमा पार्टी एक भएको भए यसबारे सम्भवत बुधबार नै निर्णय हुने थियो ।

तर, यही विवादकाबीच बुधबारका लागि बोलाइएको सचिवालय बैठक नै स्थगित भयो र विरोधका स्वरहरु थप बढ्दै गए ।

पछिल्लो समय सरकारले काम गर्न नसकेको भन्दै गुमाइरहेको साखको शिकार नेता गौतम हुने चर्चा पनि चल्यो । सायद, जित सुनिश्चित हुने विषयमा पनि प्रश्न उठ्यो ।

त्यही भएर होला ! गौतमलाई प्रतिनिधिसभा सदस्य नबनाइ नहुने मान्यता बोकेका नेकपा अध्यक्ष दाहालले सार्वजनिक समारोहबाटै जित्नेगरीमात्र गौतमलाई निर्वाचनमा उठाउने बताए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया