चिनीको मूल्य बढाउन चलखेल भएको ठहर, अख्तियारलाई छानबिन गर्न दिनुपर्ने सुझाव

news

काठमाडौं, असोज २५ । चिनी आयात रोकेर मूल्य बढाउन ठूलै आर्थिक चलखेल भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनुपर्ने सुझाव दिइएको छ ।

प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले गठन गरेको चिनी पैठारी एवं मूल्य अनियमिततासम्बन्धी छानबिन उपसमितिले चिनीको ‘कोटा’ खुला गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिन पनि सिफारिस गरेको छ ।

लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले बिहीबार आफ्नो प्रतिवेदन बुझाउँदै मूल्य अनियमितता भएको भन्दै छानबिन गर्ने जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिनुपर्ने ठहर गरेको छ ।

उपसमितिले सवारी भाडा वृद्धिको निर्णय फिर्ता लिन पनि सुझाव दिएको छ ।

चिनी आयातमा लगाइएको पूर्णबन्देज हटाउन, भन्सार दरमा समयानुकूल पुनरावलोकन गर्न, परिमाणात्मक बन्देजलाई बजारको माग र आपूर्तिसँग सन्तुलन गराउने रणनीति तय गर्न उपसमितिले सुझाव दिएको छ ।

प्रतिवेदनपछि सांसदहरुले उपसमितिको प्रतिवेदन सही रहेको भन्दै सोहीअनुसार काम–कारबाहीका लागि अख्तियार, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताए ।

स्वदेशी उद्योग प्रवर्धनका नाममा सरकारले गत भदौ ३१ मा चिनी आयातमा कोटा लगाएको थियो ।

चाडबाडका बेला वार्षिक एक लाख टनमात्रै चिनी आयात गर्न पाउने भनी कोटा तोकेसँगै बजारमा चिनीको भाउ बढेको थियो । जुन निर्णयको व्यापक आलोचना हुँदै आएको छ ।

उपसमितिले उखु किसानहरुले प्राप्त गर्नुपर्ने सरकारले दिने सहुलियत, चिनी उद्योगीहरुले तिर्नुपर्ने बक्यौता दसैंअघि भुक्तानी दिने व्यवस्था मिलाउन पनि सिफारिस गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया