संस्कृति संरक्षणमा सरकारको जोड : मन्त्री अधिकारी

news

लक्ष्मीप्रसादस सापकोटा (इमेज)

पर्वत, असोज २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले संस्कृति संरक्षणलाई जोड दिएको बताएका छन् ।

उत्तरी पर्वतको जलजला गाउँपालिका–३, मल्लाजमा निर्मित कोत मन्दिरको बिहीबार उद्घाटन गर्दै मन्त्री अधिकारीले मुलुकको ऐतिहासिक संस्कृतिलाई जोगाउनका लागि राज्यले विशेष प्राथमिकता दिएको बताए ।

मुलुककै नमुना पर्यटकीय गन्तव्य बनाउनका लागि मुलुकभित्रका सम्भावनाहरुको प्रचार–प्रसारलाई जोड दिइएको भन्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका अधिकांश स्थानमा पर्यटन पूर्वाधार भइसक्ने ठोकुवा गरे ।

मल्लाजका एक समाजसेवीले व्यक्तिगत लगानीमा ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनःनिर्माण गराएका हुन् ।

१२औं शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पुनःनिर्माण तथा संरक्षणमा मल्लाज स्थायी घर भइ हाल काठमाडौं बस्ने शिवकुमार श्रेष्ठले स्व. मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करिब ३५ लाख रुपैयाँको लागतमा मन्दिरको पुनःनिर्माण गरेका हुन् ।

बाइसे–चौबिसे राज्यका पालामा निर्मित कोत मन्दिर जिल्लाकै पुरानो भएको र संरक्षणका लागि सरकारी बजेटले प्राथमिकता नपाएपछि स्थानीयको सक्रियतामा एक करोड २० लाख रुपैयाँ लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिएको थियो ।

धार्मिक पर्यटकीय गन्तव्यस्थलकारुपमा विकास गर्ने स्थानीयले बनाएको गुरुयोजनाअनुसार मन्दिरका साथै पदमार्ग, बाघको शालिक, देवी भूमेथान, प्रवचन सत्तल भवनलगायतका संरचनासमेत बनाइएको मल्लाज कोत निर्माण समितिका अध्यक्ष क्याप्टेन टेकबहादुर जिसीले बताए ।

साविकका पाँचओटा गाविसको एउटै कोत मन्दिर तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरिएको उल्लेख छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया