नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य

news

काठमाडौं, असोज २६ । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत एसियाली समूह ‘बी’को अन्तिम खेलमा आज नेपालले सिंगापुरसँग खेल्दैछ । 

समूहका पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा चिरपरिचत प्रतिद्वन्द्वी सिंगापुरसँग खेल्न लागेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

यो खेल दुबै टोलीका लागि फाईनलसरह बनेको छ । दुबै टोलीले यसअघिका सबै ५ खेल जितेकाले आजको विजेताले उपाधि उचाल्नेछ ।

अन्तिम खेलअघि नेपाल र सिंगापुर दुबै टोलीको समान १० अंक छ । नेट रनरेटमा भने नेपाल अगाडि छ । 

मलेसियामा जारी प्रतियोगिताबाट नेपाल र सिंगापुरले दोस्रो चरणको छनोटमा स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ । यहाँबाट छानिने ३ टोलीले एसियाली छनोटको दोस्रो चरणमा अर्को समूहबाट आउने टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । त्यहाँबाट छानिने टोलीहरुले विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् । सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टि–२०विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया