काठमाडौं–७ मा उपनिर्वाचन लड्ने निर्णयबाट अन्ततः पछि हटे गौतम

news

काठमाडौं, असोज २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गत मंगलबारदेखि चर्चाको विषय बन्दै आएको ‘काठमाडौं क्षेत्र नम्बर ७ को उपनिर्वाचन’ योजना अन्ततः थान्को लागेको छ ।

सो क्षेत्रका सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर रिक्त स्थानमा नेकपाकै नेता वामदेव गौतमले उम्मेदवारी दिने योजना बनेलगत्तै पार्टीभित्र र बाहिर व्यापक आलोचना भएको थियो । गत मंगलबार सांसद मानन्धरले राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता गौतमका लागि आफू राजीनामा दिन तयार रहेको बताएका थिए । लगत्तै पार्टीका नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । सामाजिक सञ्जालमा ‘वामदेव गौतमको सत्तालिप्सा’ भन्दै चर्को विरोध भयो । विरोध गर्नेहरुमा नेकपाकै नेता कार्यकर्ताको संख्या उल्लेख्य थियो ।

सांसद मानन्धरले राजीनामा दिने आशयको पत्र पार्टी सचिवालयमा बुझाए पनि यस विषयमा पार्टीले निर्णय लिन बाँकी रहेकै अवस्थामा नेता गौतमले नै आफू काठमाडौं–७ मा उपनिर्वाचन लड्न अनिच्छुक रहेको जनाएका छन् । गौतमले काठमाडौं–७का स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएको बताइन्छ ।

स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद नबन्ने जानकारी काठमाडौं–७ का स्थानीय नेताहरुलाई गराएको उनी निकट स्रोतले जनाएको छ ।

काठमाडौंका प्रदेशसभा सदस्यहरूको भेलाले समेत स्थानीय वस्तुस्थिति उपनिर्वाचनको पक्षमा नरहेको र परिणाम सोचेअनुरुप नआउनेबारे पार्टी केन्द्रलाई जानकारी गराएका छन् । त्यसअघि पूर्वएमाले र माओवादी केन्द्रको बिहीबारै बसेको जिल्ला कमिटीको बैठकले पनि चुनावको अवस्था नरहेको ठहर गरेको थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया