आमरण अनशनकै क्रममा ११२ औं दिनमा निधन, माग पुरा नगरेका मोदीले दिए श्रद्धाञ्जलि

news

नयाँ दिल्ली, असोज २६ । भारतमा गंगा नदीको स्वच्छता र रक्षा अभियानमा सक्रिय पर्यावरणविद जीडी अग्रवाल (स्वामी सानन्द) को निधन भएको छ । विगत ११२ दिनदेखि आमरण अनशन बसेका उनको अनशनकै क्रममा निधन भएको हो ।

उनले गत बुधबारदेखि जलसमेत त्यागेका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो ।

गंगाको स्वच्छताका लागि उनले बारम्बार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गुहार मागेका थिए । कयौं पटक उनले पत्रमार्फत मोदीको ध्यानाकर्षण गराएका थिए । आफ्ना माग सुनुवाई नभएको भन्दै उनी अनशन बसेका थिए ।

उनले गंगा नदीमा विद्युत परियोजना सञ्चालन गर्ने सरकारी योजनाको विरोध गर्दै आएका थिए ।

उनका माग पुरा नगरेका मोदीले निधनमा भने दुःख व्यक्त गरेका छन् । ट्वीट गर्दै उनले लेखेका छन्, ‘श्री जीडी अग्रवालजीको निधनबाट दुःखी छु । शिक्षा, पर्यावरण, विशेष रुपमा गंगाको सफाइका दिशामा उहाँको लगाव सदैव याद गरिनेछ, मेरो श्रद्धाञ्जलि ।’ (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया