‘आत्मरक्षासम्बन्धी तालिमले आत्मबल बढायो’

news

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज २६ । सुदूरपश्चिम प्रदेशको धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको महिलाहरुका लागि आत्मरक्षासम्बन्धी तालिमले आत्मबल बढाएको प्रशिक्षार्थीहरुले बताएका छन् ।

आत्मरक्षा शिविरले केही मात्रामा भएपनि आफ्नो शरीरको सुरक्षा कसरी गर्ने भनेबारेमा जानकारी मिलेको सहभागी महिलाहरुले बताएका छन् । तालिमले धेरै कुरा सिकाएको उनीहरुको भनाइ छ ।

एक सातासम्म चलेको किशोरी, महिलाहरुका लागि आत्मरक्षासम्बन्धी तालिमको शुक्रबार समापन कार्यक्रममा सहभागी महिलाहरुले गाग्री र टायल फुटाएका थिए ।

सो शिविरमा सहभागी महिलाहरुले तालिमपश्चात् आफ्नोमात्रै नभइ अरुको पनि रक्षा गर्नसकिने बताए ।

समापन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले शिविरले महिलाहरुको आत्मबल बढाएकोमा खुसी व्यक्त गरे । उनले यस्तो शिविर प्रदेशभरि नै सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशभित्र अझैपनि बलात्कार, छाउपडी, बोक्सी आरोपजस्ता कुप्रथाले गर्दा बदनामी भइरहेको भन्दै उनले अब यस्ताखाले कुप्रथा अन्त्यका लागि पनि जनचेतनामूलक अभियानको जरुरी रहेको बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले धनगढीमा भएको शिविरमा छुटेका महिलाहरुका लागि अब प्रत्येक वडामा तालिम सन्चालन गरिने बताए ।

उनले तत्काल तीनओटा वडा र त्यसपछि क्रमशः अरु वडामा आत्मरक्षासम्बन्धी तालिम दिइने जानकारी दिए ।

शिविरमा दुई हजार महिला तथा बालिकाले सात दिनसम्म नियमित प्रशिक्षण लिएका राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका महासचिव प्रकाश चन्दले जानकारी दिए ।

राष्ट्रिय गोजुरियो कराँते दो संघले प्रदेश नम्बर–७ को आयोजनामा तालिम सन्चालन गरेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया