मनाङले जोड्यो महत्वपूर्ण ३ अंक

news

काठमाडौं, असोज २६ । मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी सुरुआत गरेको हो ।

मनाङको जितमा अफिज ओलावलेले दुई तथा हेमन गुरुङले एक गोल गरे । ब्रिगेडका रजक तिवारीले एक गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने ब्रिगेडले लिएको थियो । पहिलो हाफको २८औं मिनेटमा रजक तिवारीको गोलबाट ब्रिगेडले अग्रता लिएको थियो । तर, ४७औं मिनेटमा हेमनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ५७औं मिनेटमा ओलावलेले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ओलावलेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।

जितसँगै मनाङले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । ब्रिगेडले भने अग्रता जोगाउन नसक्दा हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

शुक्रबारको खेलसँगै लिगका पहिलो चरणका खेल सकिएको छ ।

पहिलो चरणको खेल सकिएसँगै लिग एक महिनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दोस्रो चरणका खेल अब छठपछि सन्चालन गर्ने एन्फाले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया